- जीवन बीमाको परिभाषा
बीमा भनेको आर्थिक नोक्सान हुँदा दिइने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ । बीमा कम्पनिहरु आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छन् । ‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले पनि विभिन्न विश्लेषकहरुले बीमालाई ‘जोखिम हस्तान्तरण’को रुपमा व्याख्या गर्ने गरेका छन् ।
कुनै पनि व्यक्तिको जीवन माथि आइपर्ने आर्थिक जोखिमलाई न्युनिकरण वा हस्तान्तरण गरिने करार सम्बन्धी व्यवसाय नै बीमा हो । जीवन बीमा एकातिर भविष्यको लागि बचत गर्ने माध्यम हो भने अर्कोतिर जोखिम हस्तान्तरणका लागि बीमित र बिमक (कम्पनी) बीच भएको एउटा कानुनी करार हो ।
- जीवन बीमाको उद्देश्य, महत्व र आवश्यकता
हाम्रो आम्दानी निकै कम छ परिश्रमका साथ आर्जन गरेको रकम मध्ये केहि आफ्नो लागि, सन्ततिका लागि, भएपनि संचय गर्नु अति आवश्यक छ, र यो संचय गर्ने ठाँउ वर्तमान अवस्थामा सबै भन्दा उपयुक्त ठाँउ नै बीमा हो । किनकी सुरक्षित लगानीको साथै बीमितको जोखिम समेत कम्पनीले लिएको हुन्छ ।
- सर्वोत्तम वचत
हरेक व्यक्तिले आफ्नो आम्दानीबाट खर्च गरी बचेको रकम सहकारी, विकास बैंक, बैंक तथा व्यक्तिलाई ब्याज आउने गरी लगानी गर्दछ । त्यसबाट ब्याज मात्र प्राप्त गर्दछ । उसले रकम जम्मा गर्दा बढी रकम जम्मा गरी सिमित ब्याज प्राप्त गर्दछ तर बीमामा व्यक्तिले कुनै खास मोटो रकम जम्मा गर्नु पर्दैन । आफ्नो आम्दानीको आधारमा वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक, मासिक एवंम एकल (Single) रुपमा सिमित रकम जम्मा गरेको बीमाशूल्कमा बोनस नदिई बीमाङ्क रकममा प्रति हजारमा बीमा समितिबाट स्वीकृत बोनस दिन्छ । यसरी हेर्दा एकातिर बीमाले बीमितको जीवनमा आईपर्ने आर्थिक जोखिमलाई हस्तान्तरण गर्दछ भने अर्को तिर बीमाको समाप्तीमा बीमाङ्क रकम र समानुपातिक बोनस प्रदान गर्दछ । त्यसैले बीमामा गरेको बचत अन्य क्षेत्रमा गरेको बचत भन्दा सर्वोत्तम बचत हुन्छ ।
- अनिवार्य वचत
हामी विभिन्न क्षेत्रमा बचत गर्दछौ । अन्य क्षेत्रमा जस्तो सहकारी, विकास बैंक, बैंक तथा व्यक्तिसंग गरेको बचत भनेको ऐच्छिक वचत हो । त्यस्तो बचत गर्ने क्षेत्रमा बचत गर्न अनिवार्य हुदैंन, तर बीमामा गरेको बचत भनेको अनिवार्य बचत हो किनभने बीमा गर्नुको उद्देश्य हो । आफ्नो जीवन माथि आई पर्ने आर्थिक जोखिमलाई न्यूनिकरण गर्नु वा बीमक कम्पनीलाई हस्तान्तरण गर्नु हो । यदि बीमितले बीमाशुल्क समयमानै नबुझाएमा उसको बीमालेख सुचारु हुदैन जुन अवस्थामा उसको जोखिम बहन (Risk Cover) हुदैन । आर्थिक जोखिम बहन बीमितले आफ्नो बीमालेखलाई जिवन्त (सुचारु) राखी रहनु पर्छ । त्यसैले अन्य ठाँउमा गर्ने बचत ऐच्छिक बचत हो भने बीमामा गर्ने बचत नियमित अनिवार्य बचत हो ।
- ऋणभारबाट मुक्ति
यदि कुनै व्यक्तिले बैंक, वित्तिय संस्था वा व्यक्तिबाट निश्चित समयको लागि ऋण लिन्छ र उसको ऋण चुक्ता नहुदै मृत्यु हुन्छ भने उसको परिवारको सदस्यलाई निकै कठिन हुन्छ । यदि उसले माथि उल्लेखित संस्थाबाट लिएको ऋणको बीमा गर्दछ भने बीमा कम्पनीले ऋणको जोखिम बहन गर्छ र ऋणीको उक्त संस्थाहरुको ऋण चुक्ता नहुदै बिच्चैमा मृत्य हुन्छ भने बीमा कम्पनीले बाँकी भएको सम्पूर्ण ऋण चुक्ता गरिदिन्छ र परिवारका सदस्यलाई ऋणभारबाट मुक्त गरिदिन्छ ।
- ऋण लिने सुविधा
बीमा कम्पनीले आफ्ना बीमितहरुलाई आवश्यकता परेमा उनीहरुको बीमालेख धितो राखि कर्जा प्रवाह गर्दछ । बीमितलाई कर्जाको आवश्यकता परेमा बीमा चालु भएको कुनैपनि योजना अनुरुप (जीवन ज्योती बीमा, नौलो जीवन सम्वृद्धि बीमा) जस्ता एकल बीमाशुल्कमा एक वर्ष पछि, सावधिक बीमा (सुरक्षित, सहारा, सारथी, जीवन लक्ष्मी) मा दुई वर्ष पुगेपछि, अग्रिम भुक्तानी जस्तैः जीवन सम्वृद्धि, नौलो धनवर्षा, नौलो जीवन सम्वृद्धि एंवम जीवन उन्नती बीमामा वार्षिक दोस्रो बिमा किस्ता बुझाए पछि र योजनानुसार एकल बीमा गरेको भए पुरा एक वर्ष पश्चात बीमितले कर्जा लिन सक्नेछन् । उक्त कर्जा बीमितले बीमाशुल्क वापत जम्मा गरेको रकमको समर्पण मूल्यको अधिक्तम ९०% सम्म हुनेछ । बीमितले कर्जा लिनको लागि कुनै व्यक्ति जमानी बस्नु पर्ने छैन र कुनै धितो राख्नु पर्ने छैन । कर्जा आवश्यक परेमा लिन सक्छ र नपरेमा फिर्ता पनि गर्न सक्नेछ । कर्जा वापत लिएको रकमको ब्याज वार्षिक १०% लाग्ने छ र उक्त ब्याज प्रत्येक ६/६ महिना अथवा प्रत्येक पुस मासान्त वा असार मसान्त सम्ममा बुझाउनु पर्नेछ ।
- आश्रितहरुको लागि भलाई
जीवन अनिश्चित छ कुन बेला के हुन्छ भन्ने कुनै निश्चित छैन । यदि बीमित बीमा अवधिभर जिवित रहेमा बीमाको समाप्ति पश्चात बीमित स्वयंले बीमाङ्क रकम र आर्जित बोनस पाउँछ । यदि बीमा चालु रहेको अवस्थामा बीमितको मृत्यु हुन्छ भने बीमितको इच्छाएको कानूनी हकवालालाई नियमानुसार निश्चित बीमालेखमा उल्लेखित बीमाङ्क रकम र समानुपातिक बोनस कम्पनीले प्रदान गर्दछ । जसले गर्दा परिवारका समस्त सदस्य आश्रितहरुलाई भलाई हुन्छ ।
- आयकरमा छुट
नेपाल सरकारले बीमा प्रति आकर्षित गर्न सरकारी, अर्ध–सरकारी, एन.जी.ओ., बैंक, वित्तिय संस्था, संस्थान तथा अन्य बिभिन्न तहमा काम गर्ने कर्मचारी जुन करमा आवद्ध छन् त्यस्ता ब्यक्तिहरुलाई मध्यनजर गरी कर छुटको व्यवस्था गरेको छ जसमा अविवाहित कर्मचारी भएमा वार्षिक आम्दानी ३,५०,०००।– लाख सम्म र विवाहित भए ४,००,०००।– लाख सम्मको आम्दानीमा सामाजिक सुरक्षा वापत १% मात्र कर लिने तर त्यो भन्दा बढी वार्षिक आम्दानी भएमा थप एक लाखमा १५% र सो भन्दा बढी वार्षिक आम्दानी २५,००,०००।– लाखसम्म भएमा २५% कर लिने सो भन्दा माथि ३५% व्यवस्था गरेकोमा यदि कुनै पनि कर्मचारीले जीवन बीमा कम्पनीमा बीमा गरेको छ र उसले बढीमा पच्चिस हजारसम्म बीमाशुल्क तिरेको रसिद आफ्नो कार्यालयको लेखामा पेश गरेको अवस्थामा कर योग्य आम्दानीमा थप २५,०००।– हजारमा कर छुटको व्यवस्था गरेको छ । (नयाँ व्यवस्था)
- बुढेस कालको लागि सहारा
मानिस जन्मेपछि मर्नु पर्छ त्यो अकाट्य छ । जति जति उमेर बढ्दै जान्छ उसको काम गर्ने क्षमता, जागर, आम्दानी एकनास रहदैन । जति जति उमेर बढ्दै जान्छ, काम गर्ने क्षमतामा कमी आउँछ र काम गर्न पनि सक्दैन त्यस्तो अवस्थामा अरुको सहारामा बाच्नु पर्ने हुन्छ । यदि समयमै बीमा गरी बचत गरेमा जोखिम बहन पनि हुने र बीमाबाट आएको रकम उसको बुढेसकालको सहारा पनि हुन सक्छ ।
- भरपर्दो सुरक्षित लगानी
हामी लगानी धेरै ठाँउमा गर्दछौ । अन्य ठाँउमा गरेको लगानीबाट ब्याज मात्र प्राप्त हुन्छ । तर ती लगानीमा जोखिम पनि त्यति नै बढी हुन सक्छ, व्यक्तिलाई नै ब्याजमा कर्जा दिने गर्दा त्यसको साँवा समेत गुम्ने गरेको हामीले देख्न सक्दछौ । तर बीमामा गरेको बचतमा बीमा समाप्तिमा बीमाङ्क रकम र समानुपातिक बोनस आउँछ जो हरेक व्यक्तिको लागि भरपर्दो र सुरक्षित लगानी हुन सक्छ ।
- बालबालिकाको उच्च शिक्षा र विवाहको लागि
हरेक बुबा–आमाले आफ्नो बाल–बालिकाको उज्जवल भविष्य चाहान्छन् । उनीहरुको शिक्षा दिक्षाको लागि जस्तोसुकै कठिन काम गर्न पनि तयार हुन्छन् । आफ्नो बालबालिका भनेकै बुबा आमाको भविष्यको बीमा हो । सबल, सक्षम क्षमतावान सन्तान बनाउनको लागि बचत अनिवार्य छ । आफ्नो आम्दानीको आधारमा आफुलाई भविष्यमा चाहिने जति रकम बीमाको माध्यमबाट बचत गर्यै भने बीमा समाप्तिमा आएको रकमले सन्तानको उच्च शिक्षा प्राप्त गराउनुका साथै संस्कार अनुसार विवाह दान गर्न उक्त रकम उहयोगी बन्न सक्छ ।
- देश विकासको कार्यमा टेवा पुग्ने
बीमाको माध्यमबाट संचितकोष बीमा समितिको स्वीकृतिमा हाम्रो नेपाल सरकारले देश विकासको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरेको अवस्थामा अब हामी नेपाली समस्त देशवासीले आ–आफ्नो क्षेत्रबाट आयश्रोतको आधारमा आ–आफ्नो जोखिमको मुल्याङ्कन गरी बढी भन्दा बढीको बीमाङ्क गरायौं भने कम्पनीको नियमानुसार आफ्नो र आफ्नो आश्रितहरुको भलाई हुनुका साथै देश विकासको कार्यमा थप टेवा पुग्न सक्छ ।
- मानिसलाई फजुल खर्च गर्नबाट जोगाई बचत गर्ने बानीको विकास
नेपाल एक विकासोन्मुख देश हो । यो देशको केहि क्षेत्र यस्ता छन् जहाँ अहिलेसम्म सामान्य भौतिक सुविधाहरु पुगेका छैनन् । जहाका मानिसलाई बैंक तथा वित्तिय संस्था के हुन तिनले के काम गर्दछन् भन्ने थाहा छैन । तिनीहरुले जति कमाउछन् त्यतिनै खर्च गर्ने बानी बसेकोमा त्यस्ता मानिसलाई बीमा अभिकर्ताले गाउँ गाउँमा गएर बीमाको महत्व बुझाई फजुल खर्च गर्नबाट जोगाई बचत गर्ने बानीको विकाश गराएका छन् ।
- रोजगारीको अवसर
आज देश बेरोजगारको समस्याले आक्रान्त भई लाखौ–लाख युवा–युवतीहरु बिदेशीएको अवस्थाका विभिन्न कम्पनीमा अभिकर्ताको तालिम लिई बीमाको माध्यमबाट हजारौं युवा युवतीहरुले रोजगार प्राप्त गरेका छन् जसले गर्दा बेरोजगारीको समाधानमा यसले निकै नै टेवा पु¥याएको छ ।
- परिवार र सम्पत्तिको सुरक्षा
एक्काइसौ शताब्दी भौतिक सुविधा सम्पन्न शताब्दी हो । आज मानिसले यी सबै भौतिक सुविधालाई उपभोग गरेकाले आरामदायी जीवन बिताई रहेको छ । मानिसले जति बढी यी सुविधा प्रयोग गरेको छ त्यत्ति नै उसको जीवन तथा सम्पत्तिमा जोखिम बढी रहेको हुन्छ । घटना तथा दुर्घटनाले सानो–ठुलो, धनी–गरिब आश्रित–अनाश्रित केही भन्दैन । परिवारको त्यो सदस्य, जसको आम्दानीमा परिवारका आश्रित सदस्यहरु खुशीसाथ जीवन चलाई रहेका छन् त्यस्तो सदस्यको यदि अकल्पनिय मृत्यु हुन्छ भने उक्त परिवारका सदस्यलाई धेरै दुःख पर्ने पनि हुन सक्दछ । यदि समयमै बुद्धि पु¥याई आफ्नो आम्दानीको आधारमा बीमा गरेको छ भने यो एकातिर भविष्यको लागि भरपर्दो लगानी हुन्छ भने कंथकदाचित नसोचेको अकल्पनीय घटना पर्न गएमा परिवार सदस्यलाई आर्थिक रुपमा बीमा कम्पनीले राहत प्रदान गर्दछ ।
त्यसैले हाम्रो जीवन अनिश्चित छ हामी अनिश्चितमा बाचेका छौं । यो अनिश्चिततालाई निश्चिततामा परिणत गर्ने काम बीमाले गर्दछ । परिवारको सुरक्षाको लागि जीवन बीमा गर्नु पर्दछ र सम्पत्तिको सुरक्षाको लागि निर्जीवन बीमा गर्नु पर्दछ ।
समर्गमा
बीमा बचत सुरक्षा, लगानी र जोखिम वहन (Saving, Interest & Risk Cover-SIR) का लागि गरिने हो । साभार स्राेत