जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’

ByBibas chetan

९ जेष्ठ २०७६, बिहीबार १०:०८ ९ जेष्ठ २०७६, बिहीबार १०:०८ ९ जेष्ठ २०७६, बिहीबार १०:०८

काठमाडौं: काठमाडौंको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठले भने, ‘यो क्षेत्रमा पहिला ठुलो खोल्सा थियो । अहिले यहाँ खोल्सामा हिमपाइप राखेर खोल्सा पुर्दै व्यक्तिले सार्वजनिक जग्गा नै प्लटिङ गर्न थालेका छन् ।’

स्काभेटरको प्रयोगले खोल्सा पुरेर प्लटिङ थालेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् । त्यस्तै वडा नं ९ इन्द्रेणीको साना गाउँमा इन्द्रेणी सामुदायिक वन नै अतिक्रमण गरेर प्लटिङ थालिएको छ । व्यक्तिको निजी जग्गा प्लटिङका लागि सामुदायिक वन मासेर जग्गामा बाटो लगिएको देखिन्छ ।

अतिक्रमण भएको भन्ने सूचनाको आधारमा इलाका वन कार्यालयले सोही क्षेत्रकोे मुचुल्कासमेत उठाएको स्थानीयवासी बताउँछन् । नगरपालिकामा वन तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरेर प्लटिङ गर्ने भूमाफिया सक्रिय रहेको भन्दै स्थानीयवासीले अतिक्रमण गर्नेलाई कारवाही गरी यस्ता कानून विपरीतका कार्य बन्द गराउन नगरपालिका समक्ष माग गरेका छन् ।

सार्वजनिक जग्गाको अतिक्रमणको विषयमा रासससँग कुरा गर्दै वडा नं ९ का वडाध्यक्ष घनश्याम थापाले सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई गम्भीरतापूर्वक लिएको बताए, ‘प्लटिङका लागि अतिक्रमण गरेर खोल्सामा राखिएको हिमपाइप निकाल्दै छौँ ।’ बाँकी रहेको चार पाँच वटा पनि तत्काल निकाल्ने उनले बताए ।

इन्द्रेणी सामुदायिक वन मासेर जग्गा प्लटिङको लागि बाटो लगेको विषयमा वडाध्यक्ष थापाले बाटो तत्काल बन्द गर्ने बताउँदै वनबाट वाटो लैजानु गलत भएको स्वीकार गरे । वन मासेर सडक बनाएको क्षेत्रमा वडा कार्यालयले वृक्षरोपण गर्नेसमेत अध्यक्ष थापाले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!