हप्तामा एक गाग्री पानी, त्याे पनि पालाे कुरेर

ByBibas chetan

१९ जेष्ठ २०७६, आईतवार ११:३६ १९ जेष्ठ २०७६, आईतवार ११:३६ १९ जेष्ठ २०७६, आईतवार ११:३६

पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ का स्थानीयबासी एक हप्तासम्म पालो कुरेर एक गाग्री पानी ल्याउन बाध्य छन् ।

सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले भुवनपोखरीको गोखुङ्गा पँधेराबाट हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले बताइन् ।

पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती छ । दलित बस्तीले उपभोग गर्ने खानेपानीको एउटा मात्र मुहान छ । वर्षातकाे पानी सङ्कलनका लागि सबैका घरमा घैँटा छन् । तर, यसपालि घैँटाकाे पानी माघ/फागुनमै सकिएपछि खानेपानीको पिरलोमा स्थानीय दिनरात कटाउन बाध्य छन् ।

यसपटक प्रशस्त वर्षात् हुन नसकेकाले आकासे पानी सकिएपछि यहाँका दलित समुदायमा पानीका लागि मुहानको खोजीमा दिनभर खर्चिन बाध्य हुनुपरेको गुनासो उनीहरुको छ । रैनादेवी छहरा गाउँ कार्यापालिका सदस्य तथा स्थानीय बासिन्दा गोपाल परियारका अनुसार पानी समस्या बढेपछि दिनरात पानीको मुहानमा बिताउनु परेको छ ।

हप्तामा एक गाग्री पानीले परिवारका लागि अपुग हुने भएपछि यहाँका स्थानीय बासिन्दा तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य बनेका छन् । बिहान ५ बजे पानी ल्याउनका लागि हिँडेका पधेरीहरु ८ बजेतिर घरमा पाइला टेक्छन् ।

‘पानीका मुहान रहेका क्षेत्रहरु पानी बोकेर फर्किँदा उकालो हिँड्नुपर्छ । भुवनपोखरीको कमेरे, मेहालपानी, सिमलडाँडा, खानतुङलगायतका स्थानबाट पानी ल्याउनुपर्छ’, परियारको भनाइ छ ।

पानीका कारण बालबालिका नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनुपरेको स्थानीय बासिन्दाको गुनासो छ । डाँडामा बस्ती रहेकाले पानीको समस्या वर्षौदेखि रहे पनि यहाँको खानेपानीको समाधानमा कसैको चासो नपुग्दा समस्या हटेको छैन ।

यो बस्तीलाई लक्षित गरी आरखोला, रैनादेवी, दलित बस्ती खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ । आयोजनाको काम निकै सुस्तगतिमा हुँदा उपभोक्ताले खानेपानीका लागि हैरानी भोग्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!