एकदिन छोराले बुबासित प्रश्न गरे– बाबा, यो सफल जीवन भनेको के हो ? कस्तो जीवन सफल हुन्छ ?

छोराकाे प्रश्नले बुबा गम्भीर बने । एकैछिन सोचेर उनले एउटा चंगा र लट्टाई साथमा लिएर पुत्रलाई एउटा खुला चौरमा लगे । चौरमा पुगेपछि पिताले चंगा उडाउन सुरु गरे । एकैछिनमा चंगा निकै माथि पुग्यो ।

उडिरहेको चंगा चुपचाप हेरिरहेका छोराले फेरि भने – बाबा, यो धागोले गर्दा चंगा धेरै माथि जान सकेन । धागो चुँडालिदिऊँ न ! सायद धागो चुँडालिदिएपछि यो धेरै माथि पुग्छ होला । छोराकाे चाहनाअनुरुप बुबाले चंगाको धागो चुँडालिदिए । धागो चुँडिएपछि चंगा केहीबेर हावामा लहरायो र केही पर पुगेर भुइँमा खस्यो ।

यो देखेर छोरा छक्क परे । बुबाले उनलाई सम्झाउँदै भने– बाबु, जिन्दगीमा हामी पनि यो चंगाजसरी नै सफलताको उच्च श्रेणीमा पुग्न सक्छौँ । त्यहाँ पुगेपछि हामीलाई लाग्न थाल्छ कि कुनै न कुनै बन्धनले आफूलाई माथि जानबाट रोकिरहेको छ । जस्तो कि घर, परिवार, अनुशासन, माता, पिता, आफन्त, साथीभाई आदि । थप सफलताको बिन्दुमा पुग्न हामी यी सबको बन्धन चुँडालेर स्वतन्त्र हुन खोज्छौँ ।

वास्तवमा त्यो बन्धन नै हाम्रो जीवनको त्यो धागो हो, जसले हामीलाई जतिसुकै उचाइमा पुगे पनि सन्तुलन कायम राख्न सघाइरहेको हुन्छ । तर, जब हामीलाई लाग्न थाल्छ कि यो सब बन्धन चुँडालेर म अझै माथि पुग्न सक्छु, त्यतिखेर हाम्रो हविगत पनि यही चंगाको जस्तै हुनेछ । त्यसैले, तिमी जीवनमा जतिसुकै सफल भए पनि यो धागोसितको नाता कहिल्यै चुँडिन नदिनू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!