२९ असार, विराटनगर । प्रदेश १ को नाम र राजधानी आगामी साउन महिनाभित्रै तोक्ने तयारी गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र र राजधानी तोक्ने सन्दर्भमा आफूहरु तेस्रो हुने भन्दै साउन महिनाभित्रै तोकिने बताए ।
उनले सहमति जुटाएर प्रदेशको राजधानी विराटनगर नै बनाउने प्रयास भइरहेको संकेतसमेत गरेका छन् । प्रदेश सरकारको मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले गरेको निर्णयबारे जानकारी दिदै मन्त्री कार्कीले कणर्ाली र गण्डकी प्रदेशले अस्थायी राजधानी भएकै ठाउँलाई स्थायी बनाएको भन्दै प्रदेश १ ले पनि विराटनगरलाई नै बनाउने संकेत गरेका हुन् ।
प्रदेशको नाम र राजधानीको टुंगो लगाउने बिषयमा संघीय सरकारमा सहभागी दलका उच्च नेतृत्वसँग छलफल पश्चात एक प्रकारको सहमति भइसकेको समेत उनले बताए । मन्त्री कार्कीले कस्तो सहमति भएको छ भन्ने बारेमा भने खुलाएनन् ।
उनले अब प्रदेशमा प्रतिनिधित्व गर्ने दलका उच्च तहका नेता र प्रदेश सभासदहरुसँग यस बिषयमा चाडै छलफल चलाइने बताए ।
मन्त्री कार्कीले राजधानीको विकल्प स्वरुप अहिले इटहरी, विराटनगर, धनकुटा, धरान गोठगाउले अनौपचारिक छलफलमा प्रवेश पाउने जानकारी दिए ।
६ मन्त्री थप्ने तयारी
एक अर्को प्रसंगमा मन्त्री कार्कीले चाडै नै प्रदेश १ को मन्त्री मण्डल बिस्तार भएर ११ सदस्य हुने पनि जानकारी दिए ।
उनले हालको पाँच सदस्य मन्त्री मण्डलको आकार बढेर ११ सदस्य पुग्ने बताए ।
मन्त्री मण्डल बिस्तारका लागि केन्द्रसँगपनि छलफल गरी गाँठो फुकाउनु पर्ने भएकाले कम्तिमा ९ बढीमा ११ पुग्ने मन्त्री कार्कीले बताए ।
अहिले प्रदेश १ मा पाचँ सदस्यीय मन्त्रिमण्डल रहेको छ । फागुन ३ मा गठन भएको मनित्रमण्डल अहिलेसम्म बिस्तार हुन सकेको छैन ।