अख्तियारकै शैलीमा वाइडबडीमा छानबिन गर्दै लेखा समिति

ByBibas chetan

१९ मंसिर २०७५, बुधबार २१:४० १९ मंसिर २०७५, बुधबार २१:४० १९ मंसिर २०७५, बुधबार २१:४०

मंसिर १९,काठमाडौं। नेपाल वायु सेवा निगमका २ वाइड बडी जहाज खरिदमा भएको भनिएको अनियमिताबारे संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै शैलीमा अनुसन्धान थालेको छ।

अख्तियारले स्पष्टिकरण सोध्न तयार गर्ने तीन महले शैलीमा नै समितिले प्रश्न तयार गरेर पर्यटन मन्त्रालय र निगमलाई पठाउन लागेको हो। समितिले प्रश्नावली, सम्बन्धित कागजात र प्रतित्तउर भरेर पठाउन तथा कैफियत भए उल्लेख गर्न ढाँचा नै तयार पारेर पठाउन लागेको छ।

यसअघि आयोगमा अनुसन्धानको अनुभव भएका रोजनाथ पाण्डे अहिले समिति सचिव छन्।पाण्डेले नै तीन महले ढाँचामा प्रश्न तयार पारेका हुन्। पाण्डेको प्रश्नावलीको ढाँचालाई समितिमा बुधबार प्रस्तुत गरिएको छ।

समितिले वाइडबडी विमान खरिदबारे मन्त्रालयलाई समेत छानबिनमा तानेको छ। मन्त्रालयका लागि समितिले तीन वटा प्रश्न तयार पारेको छ।

सम्बन्धित प्रश्नको उत्तरसँगै निर्णय र निर्देशनका प्रतिलिपी माग गरिएको छ। समितिले मन्त्रालयले वाइडबडी विमान खरिदको अनुसन्धानका लागि गठित समितिमाथि समेत प्रश्न उठाएको छ।

समितिले छानबिन समितिका सदस्यको विवरण र प्रतिवेदनको एकप्रति पनि मगाएको छ। निगमले जारी गरेको श्वेतपत्र र आर्थिक संकटबारे समेत मन्त्रालयको धारणा माग गरिएको छ।

पर्यटन मन्त्रालयले अहिलेसम्म निगमको आर्थिक संकटबारे सार्वजनिक टिप्पणी गरेको छैन।समितिले निगमलाई पनि आजै ३८ वटा प्रश्न पठाएको छ।‘स्पेसिफिकेसन तयार गर्दा आधार जनाउने कागजात तथा विमान खरिदका लागि स्वीकृत गरिएको स्पेसिफिकेसन’ पठाउन समितिले निर्देशन दिएको छ। समितिले पारित गरेको प्रश्नावलीमा एयरबस कम्पनीकै जहाज किन्न टेण्डर गरेको तथा एयरबससँग प्रत्यक्ष सम्पर्क हुँदाहुदै मूल्यको विवरण मागिएको थियो? भन्दै प्रश्न उठाएको छ।

निगमले विमान खरिदका लागि ११८ मिलियन डलरको अनुमान लागत तयार गर्दाका कागजात संलग्न गर्न निगमलाई भनेको छ।

विगतमा न्यारोबडी जहाज सिधै एयरबस कम्पनीबाट खरिद गरेकाले समितिले निगमको एयरबससँग सम्पर्क रहेको ठहर गरेको छ। सुरुवातमा बिक्रेताले १८४५ र १८५४ सिरिजको जहाज उपलब्ध गराउने भनेको तर पछि निगमले १८७२ र १८७८ जहाज भित्र्याएको देखिएको भन्दै समितिले ‘फरक जहाज स्वीकार गर्ने समितिको निर्णय र आधारको विवरण’ मागेको छ।

निगमले न्यारोबडी विमान खरिद गर्दा एउटामा ४३ दशमलव ५ प्रतिशत र अर्कोमा ४९ प्रतिशत छुट पाएको थियो। समितिले न्यारोबडी खरिद गर्दाको नेगोसिएशनमा एयरबसको मुल्य छुट सम्बन्धि प्रस्तावको प्रतिलिपी मगाएको छ। समितिले खरिद प्रक्रियासँगै बिजनेस प्लान र आर्थिक संकटमाथि समेत प्रश्न पठाएको छ।समिति सभापति भरतकुमार शाहले आगामी बैठकपछि प्रश्नहरु पठाइने बताए। समितिको अर्को बैठक शुक्रबार बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!