सल्लेरी, पुस १७ गते । सोलुखुम्बुको चिसोमा न्यानो हुन भन्दै दोर्पु नेवार समाजले ज्यकेट वितरण गरेको छ । ‘उमेरले डाँडा काटेको बेलामा गुठीले ज्याकेटसँगै हामीलाई साह्रै न्यानोपन दिएको छ’ मंगलबार दोर्पू नेवार समाजले वितरण गरेको ‘फेदर’को ज्याकेट ग्रहण गर्दै ८४ बर्षिय रत्नबहादुर राजभण्डारीले भावुक हुँदै भन्नुभयो । ‘लुगा त हामीले सधैं लगाएकै हो तर यो उमेरमा गुठीले गरेको सम्मान सधैं सम्झनलायक हुनेछ ।’ हरेक वर्ष वितरण गर्ने योजनाअनुसार वितरण गरिएको दोर्पु नेवार समाजले जनाएको छ ।
सोलुखुम्बुको पुरानो गुठी दोर्पू नेवार समाजले मंगलबार समाजका ७० बर्ष पार गरेका बृद्ध बृद्धाका लागि वितरण गरेको ज्याकेट वितरण कार्यक्रममा बृद्धबृद्धाले भावुक हुँदै सम्मान ग्रहण गरे र आफ्ना दौतरीहरुसँग जीवनका सुख दःुख साटासाट पनि गरेका छन् । न्यानो ‘फेदर’ ज्याकेट लगाएर आपसमा रमाइला विगत साटासाट गरिरहेको दृष्य साच्चै लोभलाग्दो देखिन्थ्यौ ।
समाजका अग्रजहरुलाई सम्मानस्वरुप ज्याकेट वितरण शुरु गरेको समाजका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले बताउनुभयो–‘वहाहरुको मार्ग निर्देश र मेहनतले हामी आजको अवस्थामा छौं, आजको दिनका लागि अग्रजहरु धन्यवादका पात्र हुनुहुन्छ ।’
योङ्ग स्टार क्लवको भवनमा भएको कार्यक्रममा समाजका २५ वृद्धवृद्धालाई ज्याकेट वितरण गरिएको समाजका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार ७० बर्ष पार गरेका समाजका ३४ वृद्धवृद्धालाई ज्याकेट वितरण गरिने कार्यक्रम रहेको छ । बाँकी बृद्धवृद्धालाई घरमा नै लगेर ज्याकेट वितरण गरिने समेत उनले बताउनुभयो ।
ज्याकेटका लागि कुल एक लाख ५३ हजार रुपैयाँ खर्च भएको समाजले जनाएको छ । सबै रकम समाजले आन्तरिक श्रोतवाट व्यहोरेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
