सोलुखुम्बु, पुस १५ गते । हिमाली सञ्चार लिमिटेडको पाचौ साधारण सभा आज सम्पन्न भएको छ । होटल तिब्बत काठमाण्डौमा भएको पाँचौ साधारण सभाले पुरानै समितिलाई निरन्तरता दिएको छ । आङनिमा शेर्पाको अध्यक्षतामा रहेको ७ सदस्सीय संचालक समितिले आगामी ५ वर्षको लागि जिम्मेवारी पाएको हो । लिमिटेडमा ९४ जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा अध्यक्ष निमा शेर्पाले ५ वर्षे उपलब्धि सार्वजनिक गर्नुभएको छ । उहाँले उत्कृष्ट करदाताको रुपमा पुरस्कृत हुनु, २४ घण्टे प्रसारण सेवा शुरु गर्नु, रेडियोको आफ्नै भवन निर्माणको काम थाल्नु, खुम्बु क्षेत्रलाई केन्द्र भागमा राखेर खुम्बु एफ.एम.को व्यवस्थापन गर्नु, लगातार दुई बर्ष लाभांश वितरण गर्नु लगायतका उपलब्धि प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेलजाङबु शेर्पाले हिमाल एफ.एम. पुर्वी क्षेत्रको सञ्चार धरोहरको रुपमा स्थापित भएको दाबी गर्नुभयो । लिमिटेडका शेयर सदस्य समेत रहनुभएका मेयर शेर्पाले रेडियोले ग्रामिण भेगमा मौलाएको वेथिती र भष्ट्राचार विरुद्ध बोल्न सके जनताको रेडियो बन्न सक्ने बताउनुभयो । महाबाणिज्य दुतहरुको अध्यक्ष आङछिरिङ शेर्पाले हिमाल एफ.एम.ले सबैभन्दा बढि कर तिरेर राज्य प्रतिको उत्तरदायित्व पुरा गरेको बताउनुभयो । पुर्व सभासद आङदावा शेर्पाले रेडियोले आर्जन गरेको विश्वासलाई टिकाउदै जनजिविकाको कुरालाई प्राथमिकताका साथ प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस सोलुखुम्बुका निर्वतमान सभापति तथा शेयर सदस्य आङगेलु शेर्पाले निष्पक्ष पत्रकारितामा ध्यान दिन सके रेडियोको लोकप्रियता चुलिदै जाने बताउनुभयो । विषय र व्यक्तिलाई काखापाखा नगरि यर्थाथको धरातमा रहेर पत्रकारिता गर्न सके जनताको विश्वास लिन सकिने बताउनुभयो । कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा समाजसेवी प्रकाश सिंह कार्कीले रेडियोवाट टेलिभिजनको सपना देख्नसके कम्पनीको प्रतिष्ठा बढ्दै जाने बताउनुभयो । साझा रेडियोको छवि बनाउन तर्फ उद्यत हुनुपर्ने बताउदै उहाँले राम्रो कामको लागि आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।
संचालक समितिका सचिब कर्मा शेर्पाले सञ्चारको विकासमा शेयर सदस्यहरुले गर्नुभएको लगानी बालुवाको पानी बन्न नदने जिकिर गर्नुभयो । रेडियोको गतिविधिलाई चुस्त पार्दै शेयर सदस्यलाई शिर ठाडो पारेर हिड्न सक्ने वातावरण तयार पारिने सचिब शेर्पाको भनाई छ । लिमिटेडका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले प्रविधि नै रेडियोको चुनौतिको विषय बनेकाले रेडियोलाई प्रविधिमैत्री बनाउदै लाने बताउनुभयो । साधारण सभामा कोषाध्यक्ष दावा गेलु पाख्रिनले ८६ लाख आम्दानीको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लिमिटेडले सोलुखुम्बुमा हिमाल एफ.एम. र खुम्बु एफ.एम. संचालनमा ल्याएको छ ।
