सडक मापदण्ड मिचेर ‘माथिल्लो सोलु’को स्थायी संरचना

ByBibas chetan

३ माघ २०७५, बिहीबार ०७:२४ ३ माघ २०७५, बिहीबार ०७:२४ ३ माघ २०७५, बिहीबार ०७:२४

कुम्भराज राई
सोलुखुम्बु,माघ ३ गते । सोलुखुम्बुको सोलुखोलामा निर्माणाधीन ‘माथिल्लो सोलुखोला जलविद्युत आयोजना’ले साल्मे–सल्लेरी सडकमा मापदण्ड विपरित स्थायी संरचना निर्माण गरेको छ । सडकको मापदण्ड अनुसार राजमार्गको दायँबायाँ १५ मिटरको दरले खाली छोड्नुपर्ने भएपनि माथिल्लो सोलुखोला जलविद्युत आयोजनाले मापदण्ड मिचेको हो ।
सडकको पाँचदेखि दश मिटरभित्र पर्ने गरि पाइपलाइन निर्माण गरिएको छ । साल्मेस्थित पावर हाउस छेउ देखि झण्डै चार किलोमिटर सम्म सडक मापदण्ड विपरित पाइप राखिएका हुन् । हर्कपुर–ओखलढुंगा हुँदै सोलु सल्लेरी सडक तीनवर्ष अघि कालोपत्रे भईसकेको छ । राजमार्गको मापदण्डमा राखिएको सडकसँगै जोडेर विद्युत आयोजनाले स्थायी संरचना निर्माण गर्दा सडक विभाग लगायतले प्रतिक्रिया जनाएका छैनन् ।
‘दीर्घकालीन रुपले हेर्ने हो भने सडकलाई असर पुग्ने स्पष्ट रुपमा देखिएको छ ।’ सोलुखुम्बु प्रदेशसभा सदस्य उत्तम बस्नेतले भन्नुहुन्छ ‘यो सडक केही वर्ष पछि त अवश्य विस्तार हुन्छ । त्यतिखेर यही समस्याले गर्दा अप्ठ्यारो परिस्थिति सिर्जना अवश्य हुन्छ ।’ आफूले पटक पटक यो विषय प्रदेश र जिल्लामा उठाएपनि कार्यान्वयनमा ल्याउन गाह्रो भएको उहाको भनाई छ ।
हर्कपुर सडक डिभिजन कार्यालयका प्रमूख विजय थापाले यस विषयमा कुरा भईरहेको बताउनुभयो । आफ्नो कार्यकाल अघि नै एकपटक आयोजनालाई परिपत्र गरिएको प्रमूख थापाले बताए । ‘यस विषयमा सिडिओसँग सल्लाह गरेर एउटा बैठक राख्ने तयारी भएको छ ।केही दिनमै छलफल हुन्छ र केही निष्कर्ष निस्किन्छ होला ।’
तत्काल सडक विस्तार नभएपनि भविष्यमा यस्ता स्थायी संरचनाले असर गर्ने प्रमूख थापाले स्वीकार गर्नुभयो । तर हाल सडकका दायाँबायाँको १५ मिटर क्षेत्रका लागि व्यक्तिलाई मुआब्जा दिई नसकेको र व्यक्तिले जग्गा भोगचलन गरिरहेको कारण विभागले काम रोक्न लगाउन नमिलेको बताउनुभयो ।
आयोजनाले सडक मापदण्ड मिचेको विषयमा कुरा गर्न आयोजनाको फिल्ड इन्चार्जको रुपमा काम गर्दै आएका मार्कण्डेय न्यौपानेसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । सल्लेरी र काठमाडौं दुवै कार्यालयमा सम्पर्क गर्दा समेत उहाँसग सम्पर्क हुन सकेन । उहाँको दुईवटा मोबाइल नम्बर उपलब्ध भएपनि ती नम्बरहरुमा आगमन कल निषेध गरिएका छन् । माथिल्लो सोलु जलविद्युत आयोजना २३.५ मेगावाट क्षमताको हो । सोलु करिडोर अन्तर्गत यस आयोजनाले अन्यको तुलनामा तीव्र गतिमा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!