हेलिकप्टर दुर्घटनाको वास्तविकता

ByBibas chetan

१६ फाल्गुन २०७५, बिहीबार ११:३३ १६ फाल्गुन २०७५, बिहीबार ११:३३ १६ फाल्गुन २०७५, बिहीबार ११:३३
Site where the helicopter carrying seven people crashed in Pathibhara, Taplejung, on Wednesday, February 27, 2019. Photo courtesy: Simrik Air

ताप्लेजुङ : पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो ।
सोही अनुसार मन्दिरमा तयारी भयो । मन्दिरका पुजारी डिल्ली आचार्यले भने‘मन्दिर क्षेत्रको मौसम बिहानै प्रतिकुल थियो, प्रतिकुल मौसमबीच हेलिकप्टर आयो र मन्त्रीज्यू लगायतले भगवतीको पूजाआजा गर्नुभयो ।’
झण्डै १ बजेको समयमा हेलिकप्टर मन्दिरमा पुगेको थियो । सो बेला सामान्य मौसम खुलेको थियो । हेलिकप्टर पुगेको केही समयदेखि नै पुनहिउँसहित ठूलो हावाहुरी चल्यो । यतिकैमा पूजाआजा सकेर मन्त्री अधिकारीसहितको टोली हेलिकप्टरमा नै बस्यो । ‘हेलिकप्टरभित्रै केही न्यानो होला भन्दै उहाँहरु हेलिकप्टरमा चढ्नुभयो र करीब १५ मिनेट भित्रै बसेर चियासमेत पिउनुभयो,’ आचार्यले भने ।
छिनछिनमा बादल लाग्ने र मौसम खुल्ने क्रम चलिरहेको थियो । बेलाबेला बतास चल्दै थियो । यतिकैमा पाथीभरादेखि सदरमुकाम तर्फको भागमा मौसम खुलेको भन्ने जानकारी पुगेपछि हेलिकप्टर उड्ने तरखरमा पुग्यो । आचार्यले भने ‘हेलिकप्टरमा रहेका युवराज दहालले अब उडे फरक पर्दैन, फेरि उताको मौसम ठिकै छ भने समस्या आउँदैन होला भनेपछि पाइलटले नजिकै रहेकालाई हावाले असर गर्छ, धेरै पर गएर बस्नुहोस् भनेर अनुरोध गर्नुभयो र हामी पनि केही टाढा गएर बस्यौँ, त्यसपछि हेलिकप्टर उड्यो ।’
केही समयमा नै हेलिकप्टर दुर्घटनामा प¥यो भन्ने समाचार सुन्दा आचार्यले विश्वास गर्न सकेन । हेलिकप्टर भित्रैबाट १० मिनेट अघि मुस्कुराउँदै चिया मीठो खुवाउनुभयो, तपाईंहरुलाई धन्यवाद भन्नुभएका मन्त्री अधिकारीको निधन भन्दा आचार्यलाई सपना झैँ लागिरहेको छ ।

उड्दाउड्दै आगो लाग्यो
पाथीभराबाट हेलिकप्टर उडेको केही समयमा नै एक्कासि आगोको मुस्लोसहित झरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘एक्कासि आकास मै आगोको मुस्लो सहित हेलिकप्टर उडेर झरेको देखियो’ अलैँची व्यवसायी तेज भट्टराईले भने । भट्टराईले मन्दिर क्षेत्रभन्दा निकै टाढाबाट यस्तो देखेको हो ।
यता घटनापछि फेदीबाट पुगेका स्थानीयवासी भुपेन गुरुङले भने हेलिकप्टरको पुच्छरको भागबाहेक अरू सबै जल्दै गरेको अवस्थामा देखेको बताए ‘अरू भाग टुक्रा टुक्रा भएर जलिरहेको थियो, शवहरु आगोसँगै यत्रतत्र थिए, हेर्नबाहेक कुनै विकल्प थिएन ।’
अलिअलि वर्षा र हिउँ झरिरहेको तथा बतास समेत चल्दै गरेको अवस्थामा मुस्किलले स्थानीयवासी घटनास्थलमा पुगेका थिए । पाथीभराको फेदीबाट प्रहरी र त्यहाँका स्थानीय सबैभन्दा पहिला पुगेका थिए । घटनाको जानकारी लगत्तै सदरमुकामबाट घटनास्थलमा जानुभएका प्रमुख जिल्ला अधिकारी सहितको टोलीलाई समेत भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण पुग्न निकै कठिन भएको थियो ।
यद्यपि उहाँहरु पुगेपछि शवलाई सुकेटार विमानस्थलमा ओसार्ने कार्य भयो । नेपाली सेनाको हेलिकप्टर मार्फत डोरीबाट शवलाई उठाएर उद्धार गर्ने कार्य भएको हो । दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।
ताप्लेजुङमा यसअघि भएको हेलिकप्टर दुर्घटनामा समेत उच्चपदस्थ व्यक्तित्वहरुको ज्यान गएको थियो । २०६३ साल असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए ।

पाथीभरा मन्दिर पुग्ने कुरा थिएन
तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आउनुभएका मन्त्री अधिकारी सहितको टोली त्यहाँको कार्यक्रम सकेर काठमाडौँ तिरै फर्कने भन्दै हेलिकप्टरमा चढेको थियो ।‘बिहान १० बजे उहाँहरु आइपुग्नुभयो, त्यसपछि कार्यक्रम सकेर उहाँहरुले खाना खानुभयो, खाना खाँदै गर्दा पाथीभरामा जाने कि भनेर एकापसमा कुरा गर्नुभयो, कसैले मौसम ठीक छैन नजाऊँ भन्दै हुनुहुन्थ्यो, कसैले पर्खेर भए पनि जाने भनेर कुरा गर्नुभयो, यतिकैमा उड्ने बेला हामीले सोध्यौँ के गर्ने तपाईंहरु पाथीभरा जाने कि काठमाडाँै फर्किने भनेर सोध्दा वीरेन्द्र श्रेष्ठले, ‘हैन अब काठमाडाँै नै फर्किन्छौँ भनेर जवाफ दिनुभयो’ इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक राकेश पोडारले भने ।’
काठमाडाँै जाने भनेर उडेको हेलिकप्टर निकै माथि पुगेपछि ताप्लेजुङतर्फ उडेको देखिएको उनले भने । पोडारका अनुसार करीब ११ः३० बजे चुहानडाँडाबाट हेलिकप्टर उडेको थियो । यसरी यहाँबाट उडेको समय र पाथीभरा मन्दिरमा पुगेको समयलाई हेर्दा छोटो दूरीमा नै झण्डै डेढ घण्टाको समय लागेको देखिन्छ । यो बीचमा कहाँ के भयो भन्ने कुनै अत्तोपत्तो नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!