गाउँपालिका रित्तो, जनप्रतिनिधिी र कर्मचारी भ्रमणमा

ByBibas chetan

४ बैशाख २०७६, बुधबार ०७:०० ४ बैशाख २०७६, बुधबार ०७:०० ४ बैशाख २०७६, बुधबार ०७:००

रुकुम(पश्चिम) : सानीभेरी गाउँपालिका ३ की लीला गुरुङ अपांगता भएका दुई नाति नातिना लिएर अपांग परिचयपत्र बनाउन गाउँपालिका कार्यालय पुगिन् । तर ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट लीलाको काम भएन ।

बल्लतल्ल कार्यालय पुगेकी वृद्धा फेरि नातिनी मनकला र नाति दिवसलाई लिएर सकिनसकी फर्किइन् । लीला गुरुङजस्ता सेवाग्राहीले सास्ती पाउँदा, सेवा दिनुपर्ने जनप्रतिनिधि र कर्मचारी भने दार्जिलिङमा सामूहीक फोटो सेसनमा मस्ती गरिरहेका थिए । हरेक महिना ३ गते बाँडिने अपांगता परिचय पत्र यसपटक मुख्य पदाधिकारी र कर्मचारी अभावमा वितरण भएन । चैत मसान्तसम्म भइसक्नुपर्ने कक्षा आठको नतिजा प्रकाशन पनि रोकिएको समाचार आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्लसहित १७ प्रतिनिधि र कर्मचारी कुनै औपचारिक निर्णयसमेत नगरी भ्रमणमा निस्किएको गाउँकार्यपालिका प्रवक्ता शेरबहादुर खड्काले बताए । ‘भ्रमणका विषयमा सामान्य छलफल भए पनि निर्णय भएको मलाई थाहा छैन । ३० चैत र १ वैशाख बिदाको दिन भएकाले सोमबार कार्यालय हाजिर हुने भनेर उहाँहरू निस्किनुभएको हो,’ प्रवक्ता खड्काले बताए ।

भ्रमण टोलीमा कार्यपालिका सदस्य वीरसिंह विक, सहलेखापाल कवीन्द्र पुन, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक भूपालसिंह विष्ट, सुब्बाद्वय खिमप्रकाश शाह र मिनाराम केसी, आइटी अफिसर नवीन चौधरी, इन्जिनियर मोहनकुमार ओली, सवइन्जिनियर गगनसिंह ओली छन् ।

यस्तै, सहायक महिला विकास निरीक्षक लीला शर्मा, कम्प्युटर अपरेटर रूपक पुन, वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर बुढाथोकी, वडा १ की सचिव शारदा चौधरी पुन तथा नगर प्रहरीहरू गीता खड्का र वेगमा ओली दार्जिलिङ भ्रमणमा छन् । गाउँपालिका अध्यक्ष नरबहादुर पुनसहित केही पदाधिकारीले श्रीमान्, श्रीमती र छोराछोरीलाई पनि भ्रमणमा लगेका छन् ।

अहिले गाउँपालिकामा असिस्टेन्ट सवइन्जिनियर रुद्रगोपाल डाँगी, काशीराम खत्री, वीरबहादुर पुन, पोषण सहजकर्ता सरस्वती विक, नगर प्रहरीहरू बालकृष्ण नकाल, शंकर रोका र जोखबहादुर पुन तथा कार्यालय सहयोगी शेरबहादुर कामी र टीकाराम पुन मात्र छन् । उनीहरूमध्ये पनि धेरै फिल्डमा छन् । मंगलबार असिस्टेन्ट सवइन्जिनियर डाँगीसहित केही कर्मचारी र कार्यालय सहयोगी मात्रै गाउँपालिका कार्यालयमा भेटिएका थिए ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले ग-यो अनुमगन
सेवाग्राहीको गुनासो आएपछि मंगलबार जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले सानीभेरी गाउँपालिका कार्यालयको अनुगमन गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले सानीभेरी कार्यालय रित्तो बनेको र सेवाग्राहीले दुःख पाएको बताए ।

‘गाउँपालिका नै खाली गरेर भ्रमणमा निस्किएको पाइयो, गाउँपालिकाको सेवा प्रवाह केही दिनदेखि ठप्प नै रहेछ,’ शर्माले भने । ठूलो संख्यामा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्किए पनि कुनै निर्णय भएको प्रमाण नभेटिएको उनले बताए । आफ्नो जिम्मेवारी कसैलाई नतोकी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भ्रमणमा निस्किएको भेटिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

‘आफू कतै जाँदा अर्को व्यक्तिलाई निमित्त तथा कार्यबाहक तोक्नुपर्ने हो, तर लिखित रूपमा कसैलाई जिम्मेवारी तोकेको रहेनछ,’ प्रजिअ रेग्मीले भने, ‘गाउँपालिकामा यो वर्षको हाजिरी रजिस्टरसमेत भेटिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!