प्रदेश १ को स्थायी राजधानी विराटनगर 

ByBibas chetan

२२ बैशाख २०७६, आईतवार १९:४३ २२ बैशाख २०७६, आईतवार १९:४३ २२ बैशाख २०७६, आईतवार १९:४३

विराटनगर : प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रमुख दलहरूबीच निक्कै रस्साकस्सीको बीचमा सत्तारुढ नेकपाले विराटनगरको प्रस्ताव गरिएको छ । तर सतारुढ नेकपा प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रस्तावमा असहमति राख्दै कांग्रेसले छुट्टै प्रस्ताव दर्ता गराएको छ ।

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आइतबार प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका रहने प्रस्ताव दर्ता गराएका छन् । सांसद्हरू यशोदा अधिकारी, सावित्रा रेग्मी, लीलम बस्नेत, विजयकुमार विश्वास, राजकुमार ओझा समर्थक रहेको सो प्रस्तावको कैफियतमा ‘कार्यपालिका, ब्यवस्थापिका लगायतका अन्य संरचनाहरू वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासका क्षेत्रमा रहने छ’ भनी प्रस्ताव दर्ता गरेपछि प्रमुख विपक्षी कांग्रेसले त्यसमा असहमति जनाएको हो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दर्ता गरेको प्रस्तावमा स्थायी राजधानी विराटनगर हुनुपर्ने प्रस्ताव गरिएको छ । सो प्रस्तावको समर्थकमा कांग्रेसका सांसद् शिवनारायण गनगाई र संघीय समाजवादीका जयराम यादव छन् । त्यस्तै पहाडी जिल्ला धनकुटामा प्रदेश १ को स्थायी राजधानी हुनुपर्ने माग गर्दै आएका धनकुटाका सांसद्हरूले छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

धनकुटा राजधानी होस् भन्ने प्रस्ताव राख्दै सांसद् लीला सुब्बा छुट्टै प्रस्ताव दर्ता गरेका छन् । सो प्रस्तावको समर्थकमा प्रतापप्रकाश हाङमाङ र रामकुमार लिम्बू रहेका छन् । त्यस्तै निरन राईको प्रस्तावमा इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ समर्थक रहेको अर्को प्रस्ताव पनि दर्ता गरिएको छ ।

स्थायी राजधानीको विषयलाई लिएर प्रदेशसभामा औपचारिक छलफल सोमबारबाट हुने भएको छ । राजधानीको प्रस्ताव दर्ता भएपश्चात् प्रदेशसभाको सचिवालयले आयोजना गरेको संक्षिप्त पत्रकार सम्मेलनमा सोमबारदेखि छलफल हुने जानकारी दिइयो ।

प्रदेशसभाका मुख्य सचिव गोपाल पराजुलीले पत्रकारसँग प्रदेशको राजधानी र नामाकरणको विषयमा वैशाख २२ गतेसम्मको समय रहेको जानकारी दिँदै सोमबारबाट यो विषयले औपचारिक रूपमा प्रवेश पाउने बताए । उनले भने, ‘यो विषयले संसद्मा प्रवेश पाएको छ । कार्य व्यवस्था परामर्श समितिको परामर्श अनुसार सभामुखज्यूले बिषयलाई अघि बढाउनु हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!