पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।
अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला सम्पन्न भएको हो ।
उक्त कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोगसम्बन्धी समस्या र उक्त रोगको समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं मनिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख डा बालगोपाल कर्माचार्यले जानकारी दिनुभयो । विशेष गरी टाउको र मस्तिष्कको चोटपटक, मेरुदण्डको चोटपटक, मस्तिष्क पक्षाघात, ब्रेन हेमरेज, छारेरोग, मस्तिष्क र मेरुदण्डको सङ्क्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई शुरुको अवस्थामा तत्काल के कस्ता निदानका उपाय गर्ने र उपचार कसरी गर्ने भन्ने विषयमा कार्यशालामा छलफल भएको डा कर्माचार्यले बताउनुभयो ।
कार्यशालामा सहभागीलाई कार्यक्रम संयोजक डा कर्माचार्यसहित महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौँका न्यूरोक्रिटीकल विशेषज्ञ डा जेन्टल सुन्दर श्रर, डा प्रज्ञा आचार्य, न्यूरो अस्पताल बासबारी काठमाडौँका डा मयुशबहादुर मुनान्कामी र डा सुवास लोहनी, मनिपाल शिक्षण अस्पतालका डा निकुञ्ज योगी र डा हरि पौडेलले प्रशिक्षण दिनु भएको थियो । कार्यशालामा पोखराका विभिन्न अस्पतालको आकस्मिक कक्ष, आइसीयू र न्यूरो आइसीयूमा कार्यरत ८३ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
-रासस