निधन भएको १५ वर्षपछि कर्मचारीको सरुवा

ByBibas chetan

७ जेष्ठ २०७६, मंगलवार २०:४६ ७ जेष्ठ २०७६, मंगलवार २०:४६ ७ जेष्ठ २०७६, मंगलवार २०:४६

कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १५ वर्ष अघि मृत्यु भए पनि समायोजनका क्रममा अहिले सडक विभाग काठमाडौँमा सरुवा गरिएको खुलासा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “हाम्रो निजामती प्रशासन कस्तो ढङ्गले चलिरहेको छ भन्ने उदाहरणका रुपमा यो घटनालाई लिन सकिन्छ, विष्टको परिवारले राज्यबाट पाउनुपर्ने सबै सुविधा पहिले नै लिइसकेका छन्, १५ वर्षअघि बितिसकेका कर्मचारीको अहिले सरुवा भएको छ ।” उक्त समितिमा अहिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि केही दिनदेखि दफाबार छलफल चलिरहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले प्राविधिक र स्वास्थ्य सेवामा रहेका कर्मचारीको अभिलेख सम्बन्धित मन्त्रालय र निजामती किताबखानाबाट समयमा अद्यावधिक नभएका कारण केही स्थानबाट यस्ता कुरा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मैले नाम ठ्याकै त्यही हो भन्न नसके पनि, समायोजनकै क्रममा यस्ता घटना गुनासोका माध्यमबाट बाहिर आएका हुन्, स्वास्थ्य र प्राविधिक सेवाका अतिरिक्त प्रशासन सेवाका समेत कतिपय राजीनामा दिइसकेका कर्मचारीको पनि सरुवा भएको भन्ने सुनिएको छ, आगामी दिनमा सम्बन्धित मन्त्रालय र निजामती किताबखानाबाट अभिलेखलाई दुरुस्त तुल्याइनेछ ।” गुनासोका माध्यमबाट आएका कुरा ठीक हुन वा होइनन् भनी पुष्टयाइ गर्ने र नामको यकिन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!