एकादेशका राजालाई सपनामा एक साधुले भने– महाराज, दरबार छेउकाे रूखको टोड्कामा बस्ने एउटा सर्पले अघिल्लो जन्मको बदला लिन भोलि राति तपाईंलाई डस्नेछ । सावधान रहनुहोला ।
बिहान बिउँझिएपछि राजा आफूलाई कसरी बचाउने भन्ने विषयमा सोचमग्न भए । सोच्दासोच्दै उनी मिठो व्यवहारबाट शत्रुको मन जित्ने सोचमा पुगे । रात पर्दानपर्दै राजाले सन्तले भनेको रूखदेखि आफ्नो बिछ्यौनासम्मको मार्गलाई फूलैफूलले सजाउन लगाए । सुगन्धित जल छर्केर वरिपरिको वातावरणलाई सुवासित गराए । ठाउँठाउँमा मिठो दूधका कचौरा राख्न लगाए । साथै, उनले आफ्ना सेवकलाई रातको समयमा सर्प रूखबाट निस्केर दरबारतिर आउँदा कहीँ पनि कुनै प्रकारको बाधा नपुर्याउन आदेश दिए ।
विपना मै मध्यराति सर्प रूखको टोड्काबाट बाहिर निस्केर दरबारतिर लाग्यो । बाटामा आफ्नो स्वागतमा गरिएको व्यवस्थाबाट ऊ दंग पर्दै अघि बढ्यो । बाटामा बास्नादार फूलमा घस्रिँदै, मिठो दूध पान गर्दै अघि बढ्दै जाँदा उसको क्रोध क्रमशः कम हुँदै गयो । ऊ निकै प्रसन्न हुँदै अघि बढ्यो । दरबारमा पुग्दा पनि उसलाई कसैले रोकटोक गरेन । ढोकामा द्वारपाल भए पनि तिनले ससम्मान उसलाई भित्र प्रवेश गर्न दिए । कसैले पनि उसलाई अलिकति पनि हानि पुर्याएन ।
राजाको सद्व्यवहारले सर्पलाई मन्त्रमुग्ध बनायो । सर्पको मनमा राजाप्रति कायम शत्रुताको स्थानमा उनीप्रति असीम स्नेह पैदा भयो । उसमा अब राजालाई डसूँ कि नडसूँ भन्ने द्विविधा उत्पन्न भयो । राजा सुतिरहेको पलङसम्म पुग्दा सर्पको मनोभाव पूरै परिवर्तन भइसकेको थियो ।
सर्पले राजालाई भन्यो- महाराज, म तिमीलाई डसेर पूर्वजन्मको बदला लिन आएको हुँ । तर, तिमीले ममाथि देखाएको स्नेहभावले गर्दा अब म तिम्रो शत्रु होइन, मित्र बनेको छु । म मित्रताको चिनोस्वरूप आफ्नो मणि तिमीलाई दिन चाहन्छु । यसलाई स्वीकार गर । यति भनेर सर्प नागमणि राजालाई दिएर आफ्नो वासस्थानतिर फर्कियो ।