राजकुमार सिद्धार्थ दरबारबाट निस्केर कठोर तपस्या गर्न गएको थाहा पाएपछि उनकी पत्नी यशोधरालाई माइत बोलाइन्छ, तर उनी माइत जान मान्दिनन् । उनी दरबारमै तपस्विनी बनेर साधनारत हुन्छिन्। संयोगवश, बोधीवृक्षमुनि साधनारत बुद्ध तथा दरबारमा साधनारत यशोधरालाई एकै समयमा ज्ञान प्राप्त भएको मानिन्छ। मानव कल्याणका लागि सर्वस्व त्यागेर हिँडेका पतिको लक्ष्यमा बाधा उत्पन्न होला, उनको महत्त्व घट्न जाला भनेर यशोधराले आफूले प्राप्त गरेको ज्ञानबारे कसैलाई बताइनन्। बुद्धत्व दुबैले प्राप्त गरे तर प्राप्तिको मार्ग भने दुबैको भिन्न थियो । बुद्धले घर–गृहस्थी त्यागेर, पारिवारिक दायित्वबाट विमुख भएर, परिवारजन तथा स्वयम्लाई कष्ट दिँदै रन–वन भौंतारिएर ज्ञान प्राप्त गरेका थिए भने यशोधरा पारिवारिक दायित्व र मातृधर्मको निर्वाह गर्दै गृहस्थ जीवनमै ज्ञान प्राप्त गर्न सफल भएकी थिइन्।