मोरङ, २५ भदौ । मोरङकी एक महिलाले अनौठो र कहालीलाग्दो रुपमा आत्महत्या गरेकी छन् । उनले आफूसँगै आफ्नो बालबच्चाको जीवन समेत समाप्त गरिदिएकी छन् ।
मोरङ बुढीगंगा गाउँपालिका २ अमाहीकी २९ वर्षीय कविता यादवले आफ्ना दुई छोरालाई झुण्ड्याएर आफूले पनि सोमबार बिहान आत्महत्या गरेकी छन् । १० वर्षीय छोरा निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा झुण्ड्याएर आमा आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिएका छन् ।
छोरालाई डोरीको पासो लगाएर झुण्ड्याएपछि आमा आफूले पनि एक तले घरको बलोमा डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुलेको एसपी केसीले बताएका छन् । प्रहरीका अनुसार बिहान ६ बजेतिर शुरुमा दुबै छोरालाई डोरीले झुण्ड्याएपछि आमा आफू पनि झुण्डिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘कान्छो छोराको शव आमासँगै एउटै बलोमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पर्यो,’ उनले भने, ‘जेठो छोरा निशानलाई झुण्ड्याएको डोरी भने छिनेको अवस्थामा पाइयो ।’ उनका अनुसार घटनास्थलको प्रकृति हेर्दा आमाले आफू झुण्डिएर आत्महत्या गर्नुअघि दुबै छोरालाई झुण्ड्याएर हत्या गर्न खोजेको देखिन्छ ।
झुन्ड्याएको डोरी छिनेका कारण बाँचेका जेठो छोरालाई भने घाइते अवस्थामा प्रहरीले उपचारका लागि विराट नर्सिङ होममा लगेको छ । एसपी केसीका अनुसार घाइते अवस्थामा घरैभित्र भेटिएका निशानको भने झुण्ड्याउने क्रममा घाँटीमा लागेको डोरीको डोव छ । ‘आमाले झुण्ड्याएकामध्ये कान्छो छोराको मृत्यु भएछ,’ उनले भने, ‘डोरी छिनेका कारण जेठो छोरालाई भने घाइते अवस्थामा भए पनि जीवितै भेटियो ।’
दुबै बालक नजिकैको स्कुलमा पढ्ने गर्थे । प्रहरीका अनुसार बिहान १० बज्दा पनि दुबै बालक स्कुल नपुगेपछि स्थानीय बासिन्दाले गएर हेर्दा घरमा भित्रबाट आग्लो लगाएको देखेर होहल्ला गरेका थिए । घर बाहिर होल्ला हुन थालेपछि झुण्ड्याएको डोरी छिनेर बाँच्न सफल भएका कविताका जेठो छोरा निशान घरभित्र रुन र कराउन थालेका थिए ।
स्थानीयका अनुसार कविताका पति अमरलाल यादवको दुईवर्ष अघि नै निधन भइसकेको थियो । सोही घरमै बस्दै आएकी कवितासँग केही समयदेखि भारतको फारवेसगञ्ज घर र विराटनगरमा काम गर्दै आएको बताउने रामदेव झा बस्दै आएका थिए । ‘कविताले दोस्रो विवाह गरेको र रामदेवलाई कान्छो पति भनेर भन्ने गर्थिन,’ एक स्थानीयले भने ।
कविताले कान्छो पति भनेर वरपर चिनजान गराएका रामदेव चार-पाँच दिनमा एक पटक त्यहाँ आएर कवितासँगै बस्ने गरेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गराएका छन् । कविताका दुबै छोरा भने पहिलाका पति अमरलालतर्फका हुन् ।
स्थानीय बासिन्दाले आइतबार राति कविता र रामदेवबीच झगडा भएको सुनेका थिए । ‘पति पत्नीबीचमा केही समयदेखि वादविवाद र झगडा हुँदै आएको रहेछ,’ स्थानीय भन्छन् । एसपी केसीले रामदेव भनिने व्यक्ति सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको बताएका छन् ।
उपचारका लागि नर्सिङ होम पुर्याएका १० वर्षीय बालक निशानले भने आमाले शुरुमा भाइ र आफूलाई डोरीले घाँटीमा बाँधेर झुण्ड्याएपछि आफूले पनि डोरी लगाएर झुण्डिएको प्रहरीलाई बताएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार बालकले आफूलाई झुण्ड्याउन साथ आमा पनि डोरी लगाएर झुण्डिएको बताएका छन् ।
उनका अनुसार आमा डोरी लगाएर झुण्डिएको केही बेरमै आफूलाई झुण्ड्याएको डोरी चुँडिएर आफू भूइँमा खसेको ती बालकले बताएका छन् । आमा र नावालक छोराको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । शवको पोष्मार्टमपछि पनि घटनाका बारेमा धेरै कुरा खुल्ने प्रहरीको भनाइ छ ।