कलकारखानाको धूँवा भन्दा गाई-भैँसीको ‘डकार’ खतरनाक !

ByBibas chetan

२६ भाद्र २०७५, मंगलवार १०:४६ २६ भाद्र २०७५, मंगलवार १०:४६ २६ भाद्र २०७५, मंगलवार १०:४६
https://bibaskulung.com.np/

बिबिसी-जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक र पर्यावरणविद्हरूका लागि गाई-भैँसीले निकाल्ने ग्यास र तिनीहरूको डकार लामो समयदेखि चिन्ताको विषय रहिआएको छ।

वायुमण्डलमा हानिकारक मिथेन ग्यास अत्यधिक हुनुमा गाई-भैँसीको डकार र तिनीहरूको पेटबाट निस्किने ग्यासलाई उनीहरू जिम्मेवार ठान्छन्। मिथेन ग्यासको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार ल्याउन वैज्ञानिकहरू प्रयासरत छन्। तिनीहरूलाई लसुन, केशर र अरू सागसब्जी खुवाएर त्यसको प्रभाव हेर्ने प्रयास गरिएका छन्।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका सोधकर्ताहरूले गाईले निकाल्ने ग्यासलाई कम हानिकारक बनाउने उपाय निकालेको बताएका छन्। वैज्ञानिकहरूका अनुसार गाई-भैँसीलाई समुद्री लेउ खुवाइए तिनीहरूले निकाल्ने ग्यासमा मिथेनको मात्रा घटाउन सकिन्छ र त्यसले पर्यावरणलाई जोगाउन सकिन्छ।

शोध अन्तर्गत वैज्ञानिकहरूले करिब एक दर्जन दुधालु गाईहरूलाई समुद्री लेउ खुवाएका थिए। लेउ खुवाइएपछि गाईहरूको डकार र ग्यासमा मिथेनको मात्रामा ३० प्रतिशतले कमी आएको पाइएको वैज्ञानिकहरूले बताएका छन्।

शोधमा संलग्न सो विश्वविद्यालयका पशुसम्बन्धी वैज्ञानिक एर्मियास केब्रियाबले शोधको नतिजाबाट आफू आश्चर्यमा परेको बताए। उनले भने, “थोरै मात्रामा गाईलाई समुद्री लेउ खुवाएर चमत्कार हुनसक्छ भनेर मलाई लागेको थिएन।”

केब्रियाबका अनुसार उनीहरूको टोलीले अब भैँसीमा त्यसको परीक्षण गर्नेछ र यसै वर्षको अक्टोबरबाट त्यसको शुरूवात गरिनेछ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको सन् २०१४ को एउटा प्रतिवेदन अनुसार गाई, भैँसी, भेँडा, बाख्रा लगायतका चौपायाले दिनभरि उघ्र्याइरहन्छन् र डकारिरहन्छन्। सो क्रममा तिनीहरूको पेटबाट मिथेन ग्यास निस्किन्छ। सन् २००६ को नोभेम्बरमा प्रकाशित एउटा अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनका लागि गाडी र कलकारखानाको धूँवा जति जिम्मेवार हुन्छ त्योभन्दा बढी गाईको पेटबाट निस्किने मिथेन ग्यास जिम्मेवार हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!