निर्मला हत्याका मुख्य आरोपित विष्ट छुटे, बम दिदी–बहिनी पनि रिहा

ByBibas chetan

२६ भाद्र २०७५, मंगलवार २०:४० २६ भाद्र २०७५, मंगलवार २०:४० २६ भाद्र २०७५, मंगलवार २०:४०

काठमाडौं, २६ भदौ ।  भीमदत्तनगरपालिका कञ्चनपुरक १३ वर्षीया किशोरीको बलात्कारपछिको हत्या अनुसन्धानका लागि बनेको उच्चस्तरीय समितिको काम ‘हात्ती आयो हात्ती आयो, फुस्सा’ सावित भएको छ । निर्मला हत्याको डेढ महिनासम्मको अनुसन्धानले पनि निर्मलाको हत्यारा पत्ता लगाउन सकेको छैन । निर्मला पन्तको बलात्कारमा संलग्न भनेर प्रहरीले पक्राउ गरेका दिलिपसिंह बिष्ट आज  छुटेका छन् ।

जिल्ला अदालत कञ्चनपुरले बिष्टलाई जमानी जिम्मा तथा साधारण तारेखमा रिहा गर्न आदेश दिएको प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिएका छन् । उनका अनुसार बम दिदी–बहिनीलाई पनि रिहा गरिएको छ । बहिनी रोशनीलाई जिम्मा जमानी र दिदी बबितालाई ३० हजार धरौटीमा छोडिएको उनले जानकारी दिएका छन् ।

यस्तै सरकारी वकिल कार्यालयले निर्मलाको डिएनएको प्रोफाइल तयार भएको जनाएको छ । निर्मलाको डिएनएसँग दिलिपसिंह बिष्टको डिएनएसँग म्याच खाएन, सरकारी वकिल खेमराज भट्टले भने, ‘त्यही भएर उनलाई हिरासतमुक्त गर्ने निर्णय भएको हो ।’

घटनाको २४ दिनपछि भदौ ४ गते प्रहरीले दिलिपसिंह बिष्ट नै घटनाको मुख्य अभियुक्त भनेर पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यो बेला प्रहरीले दिलिप मानसिक सन्तुलन ठिक नभएको समेत भनेको थियो ।

उनको डिएनए र मानसिक अवस्था जाँच गर्न प्रहरीले दुई हप्ता भन्दा बढी काठमाडौंमा राख्यो । अन्ततः उनको डिएनए मेल खाएन । घटनाको अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्ट र डिएसपी अंगुर जिसी निलम्बनमा परेका छन् । गृह मन्त्रालयले बनाएको छानविन समिति उनीहरुको बयान लिईरहेको छ ।

समितिका एक सदस्यले राजीनामा दिएका छन् । गएको साउन १० गते घरबाट साथीको घरमा पढ्न गएकी निर्मलाको भोलिपल्ट साउन ११ गते बम दिदीबहिनीको घरबाट ६ सय मिटर पर उखुबारीमा शव फेला परेको थियो । घटना छानविन समितिका सदस्यको राजीनामा र आरोपित विष्टको रिहाइसँगै निर्मला हत्या प्रकरण धप जटिल र पेचिलो बनेको छ ।

‘अब स्थानीयले निर्मलाको हत्यारा कहाँ गए त भन्ने प्रश्न गर्न थालेका छन् । तर, प्रहरीले भने ढिलोचाँडो अपराधी पक्राउ परिछाड्ने बताउँदै आएको छ । यता निर्मला हत्या प्रकरणको अनुसन्धान समितिमा रहि राजीनामा दिएका सदस्यले निर्मला हत्या प्रकरणको छानविन समितिमा रहेका कारण आफ्नो समेत ज्यान असुरक्षित भएको बताउँदै सुरक्षाको माग गरेका छन् ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीको घटना अनुसन्धान प्रक्रिया नै शुरुदेखि त्रुटिपूर्ण रहेको जनाउँदै निर्मला हत्या प्रकरण निचोडमा पुग्नेमा शंका व्यक्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!