काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष, कार्यकारी अधिकृतिको बारेमा सामाजिक सञ्जाल एवं मिडियामा आएको समाचार आधारहिन र भ्रामक भएको गाउँपालिका प्रवक्ता निमराज तामाङले बताएका छन् । गाउँपालिकामा भएको आर्थिक अनियमितता र अख्तियारको दुरुपयोग भएको आरोपहरु सामाजिक सञ्जाल र केहि मिडियामा समाचार प्रकाशित भएपछि प्रवक्ता तामाङ प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष र कार्यकारी अधिकृतलाई लगाइएको आरोप निराधार र भ्रामक भएको बताएका हुन् ।
आधारहिन र तथ्यबिना आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यस्ता दुष्प्रचारको पछि नलाग्न आम नागरिकलाई विज्ञप्ती मार्फत अनुरोध गरिएको छ । प्रेस विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाको विकास विरोधी र पराजित मानसिकताबाट निर्देशित व्यक्तिद्धारा आमा नागरिकलाई भ्रमित पार्ने, स्थानीय तहका निर्वाचित जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीहरुको मनोबल गिराउने, अन्ततः संघीयता र स्थानीय सरकारलाई असफल बनाउन यस प्रकारको दुष्प्रचार गरिएको हो ।’
‘गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्दा आर्थिक अनियमितता भयो भनि गरिएको तथ्यहिन, भ्रामक प्रचारमा कुनै सत्यता नरहेको आम माप्य दुधकोशी गाउँपालिकाबासी, सरोकारवाला निकाय एवं सम्पूर्ण महानुभावहरुमा स्पष्ट पार्न चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ । सामाजिक सञ्जालमा जनप्रतिनिधी र कर्मचारीहरुको सामाजिक प्रतिष्ठा र मर्यादामा आँच पु¥याउन गरिएको दुष्प्रचारको घोर भत्र्सना गर्दछौं । हुँदै नभएको तथ्यहिन विषयलाई जबरजस्ती बङग्याई दिनरात जनसेवामा क्रियाशील जनप्रतिनिधी र कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिने, जनतालाई भ्रममा पारी आफ्नो निहित स्वार्थ पूरा गर्न उद्दत, परिवर्तन र विकास विरोधी गीरोह, आधारहिन विषयमा सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने, सत्यतथ्यको खोजीबिना समाचार लेख्ने समेतलाई कानून बमोजिक कारर्बाहीको दायरामा ल्याउन सरोकारवाला निकायहरुसँग हार्दिक अपिल गर्दै विज्ञप्ती जारी गरिएको छ ।
त्यसैगरी ‘गाउँपालिका र वडास्तमा सञ्चालित सबै योजनाको भुक्तानी वडा कार्यालयको फरफारक सिफारिस, वडा र पालिका स्तरीय योजना अनुगमन तथा सहजीकरण समितिको अनुगमन, प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ता समितिबाट पेश भएको बील, भर्पाई लगायत कागजात संलग्न राखी सिधै उपभोक्ता समितिको बैंक खातामा र स्वीकृत कार्यक्रम अनुसार मालसामान, सार्वजनिक निर्माण र परामर्श सेवा खरिद गरेको कम्पनी एवं आपूर्तिकर्तालाई पनि सिधै उनीहरुकै खातामा भुक्तानी दिइएको छ । त्यसैगरी फर्निचर, प्राविधिक तथा इञ्जिनियरिङ उपकरण खरिदमा कुनै अनियमितता भएको छैन, सभाद्धारा विनियोजन भए बमोजिम सबै रकम पनि खर्च भएको छैन । उक्त शीर्षक लगायत अन्य चालुतर्फ छुट्याइएको रकम पूरै खर्चबाट बचत भएको करिब सत्तरी लाख (७०,००,०००) भन्दा बढी गाउँपालिकाको संचित कोषमा रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वडा नं. ७ जाने सडकको सन्दर्भमा कुन कुन टोल हुँदै सडकको ट्रयाक ओपन गर्ने भन्ने विषयमा स्थानीयहरुबीच समझदारी हुन नसक्दा सामान्य विवाद भएको तर उक्त विषयमा जनप्रतिनिधी, उपभोक्ता समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुद्धारा २०७५ साल वैशाख ५ गते नै विवाद समाधान गरी योजना समेत सफल रुपमा सम्पन्न भैसकेको स्पष्ट पार्न चाहन्छौं, विज्ञप्तीमा उल्लेख गरिएको छ । यसरी समाधान भैसकेको विषयमा समेत भ्रम छर्न विवादित नै छ भनेर प्रचार गर्नु सान्दर्भिक र औचित्यपूर्ण देखिदैन । त्यसैगरी सामाजिक सञ्जाल र केहि मिडियामा लगाइएका आरोपहरु सबै आधारहिन र कपोकल्पित भएको विज्ञप्तीमा भनिएको छ ।
गाउँपालिकाको सबै निर्णय तथा योजना कार्यान्वयन गर्दा प्रचलित कानूनको बर्खिलाप हुने गरी निजी स्वार्थ प्रेरित भएर गरिएको छैन । जुनसुकै निर्णय र सेवा प्रवाह गर्दा नागरिकको हितलाई केन्द्रमा राखी प्रचलित कानून बमोजिम नै गरिएको व्यहोरा समेत स्पष्ट पार्दै यस प्रकारको भ्रामक र गलत प्रचारकोपछि नलागी सचेत भई गाउँपालिकाको विकास र समृद्धिको दिशामा एकजुट भएर लाग्न र सहयोग गर्न अनुरोध गर्दछौं, प्रवक्ता तामाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।