१७ मंसिर , २०७५ काठमाडौं – प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानन्यायाधीशका लागि न्याय परिषदले योग्य ठहर गरेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्धय दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाबारे थप छलफल गर्नुपर्ने निष्कर्ष निकाल्दै सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठक सकिएको हो ।

न्याय परिषदले योग्य ठहर गरेका दुई न्यायाधीशको बारेमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकाल्दै आउँदो शनिबार २२ गते पुनः बैठक बस्ने गरी स्थगित गरिएको परिषदका सदस्य एवम् राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय कार्य समिति बैठकमा जानुपर्ने भएकाले पनि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको पनि अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

बैठकमा वित्त आयोगलगायतका संवैधानिक आयोगलाई पूर्णता दिने सम्बन्धमा पनि सामान्य छलफल गरिएको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रधानमन्त्री केपी ओलीले परिषदको बैठक बोलाउनु भएको हो । संवैधानिक व्यवस्था अनुसार पद रिक्त हुनु एक महिना अघि नै संवैधानिक परिषदले प्रधानन्यायाधीशलाई सिफारिस गर्ने प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ ।

सर्वोच्च अदालतमा अहिले संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरका वरिष्ठ न्यायाधीश जोशी र अर्का वरिष्ठ न्यायाधीश राणामात्रै प्रधानन्यायाधीशमा सिफारिसका लागि योग्य हुनुहुन्छ ।

सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशले मात्रै प्रधानन्यायाधीशमा सिफारिस हुने व्यवस्था छ । संवैधानिक परिषदकोे सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!