‘सोलुदुधकुण्ड’मा प्लाष्टिक र सिसा प्रतिबन्ध

ByBibas chetan

२१ पुष २०७५, शनिबार ११:१५ २१ पुष २०७५, शनिबार ११:१५ २१ पुष २०७५, शनिबार ११:१५

सल्लेरी, पुस २१ गते । अंग्रेजी महिनाको नयाँवर्ष तथा जनवरी १ देखि सोलुदुधकुण्ड नगरपालिकाले प्लाष्टिक तथा सिसाजन्य वस्तुको खरिद–विक्रिमा प्रतिबन्ध लगाएको छ । गत असोज १८ मा बसेको नगरकार्यपालिकाको वैठकले लिएको निर्णय अनुसार नगर क्षेत्रमा प्लाष्टिक तथा सिसाजन्य वस्तुको आयात र प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

होटल, व्यवसायीहरुलाई नियन्त्रण र व्यवस्थापनका लागि सहज गराउन नगरपालिकाले तिन महिना अघि नै सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थानमा होडिङबोर्ड टाँस गर्ने काम गरेको थियो भने आमसञ्चारको माध्यमवाट प्रचारप्रसार गरिएको थियो । नगरको सुन्दरता र सफाईलाई ध्यानमा राख्दै नगरले लिएको निर्णय प्रति व्यवसायीले मिश्रीत रुपमा लिएका छन् । नगरको सुन्दरताका लागि सिसा तथा प्लाष्टिकजन्य वस्तुको खरिदविक्रिमा रोक लगाउने निर्णयमा पुगेको मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिए । ‘बर्षौ देखि वेवारिसे बनेको सयौ टन फोहोर रिसाईकलका लागि नवलपरासी निर्यात गरेका छौ ।’ उनले भने, ‘बेलैमा सफाईमा ध्यान दिन नसके बढ्दो शहरिकरणले नगरको छविलाई समेत धुमल्याउने भएकाले व्यवसायीहरुकै सहमतिमा प्रतिबन्ध गर्ने अवस्थामा पुगेका हौ ।’

आयातलाई प्रतिबन्ध लगाईएपनि स्टोरमा रहेका सिसा तथा प्लाष्टिकजन्य वस्तुको खरिद विक्रिमा भने समस्या पैदा भएको छ । व्यवसायीहरुले आयातमा कमी ल्याएपनि आयात भईसकेका वस्तुको खपतको सवालमा आगामी पुस २३ गते बस्ने कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले बताउनुभयो । ‘स्टक सामाग्रीको व्यवस्थापनको सन्दर्भमा आगामी कार्यपालिका वैठकमा छलफल गर्नेछौ ।’ थप्नुभयो ‘जनप्रतिनिधिहरुले स्टक सामाग्रीलाई खपत हुन दिएर थप्न नदिने गरि अनुगमनको पाटोलाई चुस्त पार्नुपर्ने सुझाव आएको छ ।’ नगरपालिका अन्य स्थानीय तह पुग्ने द्धार पनि भएकाले सिसा तथा प्लाष्टिकजन्य वस्तुको आयात रोक्नका लागि समस्या देखिएको अधिकृत सुवेदीको भनाइ छ ।

यता, व्यवसायीे भने सिसा तथा प्लाष्टिकजन्य वस्तु प्रतिबन्धका लागि तयारी नपुगेको बताएका छन् । नगरपालिकाले पत्राचार गरेपनि प्रर्याप्त छलफल नभएको सल्लेरीकी व्यवसायी जित कुमारी श्रेष्ठले बताउनुभयो–‘स्टक सामाग्री विक्रि गरिरहेको छु, सकिएपछि आयातमा रोक लगाउनेमा म प्रतिबद्ध छु ।’ अन्य व्यवसायीले पनि निर्णय कार्यान्वयनका लागि आवश्यक छलफल नगरेको गुनासो गरेका छन् ।

नगरपालिकाले आधारभूत सरसफाई तथा फोहोरमैला व्यवस्थापन ऐन–२०७५ लागु समेत गरेको छ । उक्त ऐनमा नगर क्षेत्रको सफाईको लागि सिसा तथा प्लाष्टिकका बोतल वा सामाग्रीको प्रयोग र व्यवसायमा समेत बन्देज लगाउन सक्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!