नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार : प्रधानमन्त्री ओली

ByBibas chetan

२७ पुष २०७५, शुक्रबार ०८:०७ २७ पुष २०७५, शुक्रबार ०८:०७ २७ पुष २०७५, शुक्रबार ०८:०७

पुस २७/काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ ।

२९७ औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असङ्ख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

“उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने थिएन, राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन ।”

“उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार गर्नुभयो,” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ ।” संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्णताप्रति हामी सदैव गौरव गर्दछौँ ।” मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!