बोर्डबाहेक केही छैन नेपाल पानी जहाज कार्यालयमा !

ByBibas chetan

२ फाल्गुन २०७५, बिहीबार १९:४४ २ फाल्गुन २०७५, बिहीबार १९:४४ २ फाल्गुन २०७५, बिहीबार १९:४४

फागुन २/ललितपुर – ललितपुरको एकान्तकुनामा बिहीबार तामझामका साथ नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरिएको छ ।

कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही महिनाभित्रै देशमा पानी जहाज सञ्चालन हुनेगरी आवश्यक स्थान, जनशक्ति र योजनासहित अघि बढेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले यसो भन्दै गर्दा कार्यालय पुग्ने जोसुकैले पनि केही महिनामै नेपालमा पानी जहाज चल्ला भनेर पत्याउने अवस्था भने छैन ।

के–के छन् त पानी जहाज कार्यालयमा ?

केही छैन, बोर्डबाहेक केही पनि छैन । छ त प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा सजाइएका केही सजावट र भवनको बाहिर उहाँको स्वागतमा बनाइएको प्रवेशद्वार ।

उद्घाटनसँगै पानी जहाज कार्यालयमा पुग्दा आफ्नै भवन पनि नभएको पाइएको छ ।

एकान्तकुनास्थित काठमाण्डौ चक्रपथ सुधार योजनाको कार्यालय भएको भवनमा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरिएको हो । यस भवनमा ११ वटा कोठा छन् । भवनमा पानी जहाज कार्यालयकाे बोर्ड राखेर कार्यालयको उद्घाटन गरिए पनि सबै कोठाहरु काठमाण्डौ सुधार चक्रपथ योजनाले प्रयोग गर्दै आएको छ ।

यस भवनमा पहिलेदेखि रहँदै आएको काठमाण्डौ चक्रपथ आयोजनाको कार्यालय र नेपाल पानी जहाजको कार्यालय दुवै रहने भनिए पनि कुन–कुन कोठामा कुन कार्यालय रहने भनेर अझै यकिन नभएको काठमाण्डौ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले बताउनुभयो ।

पानी जहाज कार्यालयमा सहसचिव स्तरका रजिस्ट्रार कार्यालय प्रमुख रहने गरी १६ जना कर्मचारी दरबन्दी कायम गरिए पनि नेपाल सरकारले कार्यालयमा एक जना पनि कर्मचारी खटाउन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले कर्मचारी समायोजन प्रक्रिया चलिरहेकाले कर्मचारी खटाउन नसकिएको बताउनुभयो । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउनेबित्तिकै नियमित रुपमा पानी जहाज कार्यालयले आफ्नो काम थाल्ने प्रवक्ता सापकोटाले बताउनुभयो ।

नेपालीले सिधै पानी जहाज चलाउनको लागि भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको छ । नेपाल सरकारले पनि नारायणी नदीमा केन्द्रित भएर योजना बनाइरहेको बताएको छ ।

भारतको गंगा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आइपुग्ने गरी पानीजहाज चलाउने तयारी रहेको छ । यो पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्म नै ल्याउने गरी तयारी भैरहेको बताइएको छ ।

३ मिटर गहिराइ र ६० मिटर चौडाइको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज सञ्चालन गर्न सकिने र पाँच सय टन क्षमताका पानीजहाज नेपाल आउनसक्ने अध्ययन गरिएको भए पनि ३ सय टन क्षमताको पानी जहाज चलाउने तयारी भइरहेको अध्ययन टोलीका संयोजक माधव बेल्वासेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!