फोहोर फाल्ने भाँडोमै मोबाइल चार्ज गर्ने सुविधा

ByBibas chetan

२२ फाल्गुन २०७५, बुधबार २१:२२ २२ फाल्गुन २०७५, बुधबार २१:२२ २२ फाल्गुन २०७५, बुधबार २१:२२

काठमाडौ : डस्टबिन के का लागि ? उत्तर सजिलो छ, फोहोर हाल्नका लागि । तर डस्टबिनमा फोहोर मात्र फालिदैन, मोबाइल चार्ज गर्न पनि सकिन्छ । त्यत्ति मात्र होइन, हावामा भएको प्रदुषणको मात्रा र तापक्रम समेत देखाउँछ, फोहोर फाल्ने भाँडोले ।

फोहोर फाल्ने भाँडोमै यत्ति धेरै सुविधा अन्त कतै नभई काठमाडौ शहरमै उपलब्ध छ । काठमाडौको नयाँ बानेश्वर, माइतीघर, रत्नपार्क, रानीपोखरी, टुँडिखेल, थापाथली, जमल, त्रिपुरेश्वर, नारायणहिटी अगाडि गरी अहिले १२ वटा स्मार्ट डस्टबिन राखिएका छन् ।
काठमाडौ महानगरपालिकाले कृष्ण सप्लायर्स प्रा.लि. मार्फत २०७३ मंसिर १९ गते ती डस्टबिन राखिएका हुन् ।

६० वटा डस्टबिन राख्ने लक्ष्य अनुसार बाँकी ठाउँमा पनि चाँडै डस्टबिन राख्ने योजना रहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो ।

के हो स्मार्ट डस्टबिन ?
झट्ट हेर्दा एटिएम मेसिन जस्तो देखिने स्मार्ट डस्टबिनको बाँया तिरको प्रदुषण मेसिनले वातावरणमा भएको फोहोरको मात्रा देखाईरहेको हुन्छ । स्मार्ट डस्टबिनको दायाँ पट्टि तापक्रम मापन गर्ने डिजिटल मेसिन छ । यसैको फोहोर जम्मा गर्नेपट्टिको माथिल्लो भागमा हाम्रो सफा काठमाडौ लेखिएको बोर्ड छ ।

त्यसैको तल फोहोर मलाई भनेर फोहोर फाल्न सहजताका लागि दुईवटा कोठा बनाएको छ । फोहोर हाल्ने खुला भाँडाको छेवैमा मोबाइल चार्ज गर्ने ठाउँ छ ।

नेपालको सन्दर्भमा हावामा रहेको फोहोरको मात्रा ४० माईक्रोग्राम प्रति घनमिटर सम्मलाई सामान्य मानिने वातारण विद भुषण तुलाधरले बताउनुभयो । तर काठमाडौमा दैनिक एक सय ३० देखि एक सय ८० माईक्रोग्राम प्रति घनमिटर सम्म प्रदुषण रहेको स्मार्ट डष्टविनले मापन गरिरहेको छ ।

चिटिक्क परेको स्मार्ट डष्टविनमा प्रकाशको व्यवस्था छ, जो रातको समयमा समेत स्मार्ट डस्टबिन चम्किरहेको हुन्छ ।

स्मार्ट डस्टबिनको प्रयोगमा कमी

पैदलयात्री र बाटो तथा चोक आसपास बस्नेले केही न केही प्रयोग गर्दा उत्पादन हुने फोहोरलाई एकैठाउँमा बिसर्जन गरोस् भन्ने उद्देश्यले स्मार्ट डस्टबिनको ब्यवस्था गरिएको हो । तर स्मार्ट डस्टबिनमा फोहोर जम्मा पार्न छाडेर डष्टविनका छेउछाउमा थुपार्ने गरेका छन् । कतिले भने डस्टबिनमुनि कोच्याएर राख्ने गरेका छन् । सर्बसाधारणको बाक्लो उपस्थिति हुने क्षेत्रमा राखिएको स्मार्ट डस्टबिन चिटिक्क देखिए पनि यसको प्रयोगमा भने कमी छ ।

काठमाडौ महानगरपालिकाले राखेको डस्टबिन जनचेतनाको अभावमा प्रयोगविहीन रहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल स्वीकार्नु हुन्छ । ‘जनचेतनाको अभावमा खास प्रयोग कम भएको हो । जनचेतनामुलक कार्यक्रम सञ्चालनको विषयमा छलफल भईरहेको छ ।’

प्रवक्ता डंगोलका अनुसार फोहोर संकलन तथा व्यवस्थापनमा कम टेवा पुगे पनि सर्वसाधारणले मोवाईल चार्ज गर्न पाएको, वातावरणमा पाईने प्रदुषण मात्राबारे जानकारी हासिल गर्न पाएका छन् । डस्टबिनमा जम्मा भएको फोहोर हप्ताको दुई पटक उठाउने गरिएकोे छ ।
महानगरपालिकाका प्रवक्ता डंगोलका अनुसार सर्वसाधारणलाई आफूले फालेको फोहोर सानो लागेपनि यही बानीले फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ ।

स्मार्ट डस्टबिनको प्रयोगबारे सर्वसाधारणलाई थाहा नहुँदा प्रयोगबिहीन भएको छ । सरकारले एउटै डस्टबिनमा हजारौं रकम खर्च गरेर सडक छेउमा राखेपनि त्यो उपलब्धी बिहीन भएको छ । माल पाएर पनि चाल नपाएको भनेको यही होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!