५४ विद्यालयमा मोवाइल र एक विद्यालयमा फेसबुक प्रतिबन्ध

ByBibas chetan

३ बैशाख २०७६, मंगलवार २१:२४ ३ बैशाख २०७६, मंगलवार २१:२४ ३ बैशाख २०७६, मंगलवार २१:२४

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाले गाउँपालिकाभरका सबै विद्यालयमा मोवाइल फोन प्रतिबन्ध गरेको छ । गाउँपालिकामा ५४ वटा विद्यालय छन् ।

जिल्लाको थुलुङ दूधकोसी गाउाँपालिकाभित्र रहेका सबै विद्यालयमा नयाँ भर्ना अभियानसँगै मोवाइलमा प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ । यसका साथै जिल्लाको छेस्काममा माध्यमिक विद्यालयमा फेसबुक प्रतिबन्धित छ ।

‘हाम्रो शहर हाम्रो गाउँ, सम्पूर्ण बालबालिकालाई विद्यालय पुर्‍याऔँ’ भन्ने नारासहित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाले भर्ना अभियानसँगै शैक्षिक गुणस्तर सुधारका लागि भन्दै गाउँपालिकाका सबै विद्यालयमा मोवाइल प्रतिबन्ध लगाएको गाउँपालिका अध्यक्ष असीम राईले बताए । सबै विद्यालयका विद्यार्थीहरूलाई पूर्ण रूपमा मोवाइल बोक्न प्रतिबन्ध लगाइएको छ भने शिक्षकहरूले टिफिनको समयमा एक घण्टा मात्र मोवाइल प्रयोग गर्न पाउँछन् ।

गाउँपालिकाको सामाजिक विकास समिति शिक्षा शाखाको मंगलबार बसेको बैठकले विद्यालय समयमा शिक्षक र विद्यार्थी सबैलाई मोवाइल प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार विद्यार्थीहरूले ‘एन्ड्रोइड मोवाइल’को प्रयोगमा पाइने सबैजसो अफलाइन गेम, भिडियो हेर्ने, गीत सुन्ने र फोटो खिच्ने, भिडियो खिच्ने जस्ता कार्य हुने गरेको हुँदा प्रतिबन्ध लगाइएको हो । यसका कारण विद्यार्थीको पढाइमा अवरोध भएको उनले बताए ।

शिक्षक र विद्यार्थीहरूले फोन प्रयोग गर्न नपाए पनि सूचना आदानप्रदानका लागि विद्यालयमा एउटा फोन नम्बर उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । विद्यालय समयमा मोवाइल फोन प्रयोग गर्दा पठनपाठन प्रभावित हुने भएपछि पूर्ण रूपमा प्रतिबन्ध लगाएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, अघिल्लो शैक्षिक सत्रदेखि महाकुलुङ– ३ छेस्कामको छेस्काम माध्यमिक विद्यालय परिसरमा फेसबुक प्रतिबन्धित छ । विद्यालयमा इन्टरनेटको पहुँच पुगेसँगै फेसबुक प्रतिबन्ध गरिएको विद्यालयका प्रधनाध्यपक गुरुप्रसाद राईले बताए । विद्यालयमा चौबीसै घण्टा इन्टरनेट सञ्चालनमा आइरहेको छ तर विद्यालय समयमा फेसबुक बन्द छ । छेस्काम माध्यमिक विद्यालय परिसरभित्र कार्यालय समयमा फेसबुकसँगै म्यासेन्जर पनि बन्द छ ।

एभरेष्ट लिङ्कको सहयोगमा इन्टरनेट जोडेको विद्यालयले १० बजेदेखि ४ बजेसम्म इन्टरनेटबाट सर्च गरेर विभिन्न ज्ञान लिनसक्ने तर फेसबुक र म्यासेन्जर नचल्ने बनाएको हो । विद्यार्थीहरूको कम्प्युटर शिक्षा र शिक्षकहरूको अध्यापन सहजताका लागि इन्टरनेट जोडेको विद्यालयले गुगलको धेरै प्रयोग होस् तर फेसबुक र म्यासेन्जरमा समय खर्च नहोस् भन्दै प्रतिबन्ध लगाएको जनाएको छ । विद्यालयका प्रधानाध्यपक गुरुप्रसाद राईका अनुसार चाहिएको वस्तु र नजानेको विषयमा इन्टरनेटमा खोज्दा पाइने भएकाले शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा रहेको छ ।

विद्यालय समयमा फेसबुक र म्यासेन्जर चल्दा शिक्षकले आफ्नो जिम्मेवारी बिर्सिने सम्भावना तथा विद्यार्थीहरूले कक्षाभित्रै फेसबुक चलाउने भएकाले यस्तो तरिका अपनाइएको प्रधानाध्यपक राईले बताए । राईका अनुसार सिस्टममै मिलाइएकाले सबै अनलाइनहरू, एकाउण्टहरू चल्ने भए पनि फेसबुक र म्यासेन्जर मात्र बन्द गरिएको हो ।

गुगल र युट्युव जस्ता सुविधाको प्रयोगबाट विद्यार्थीहरू थप ज्ञान दिने र प्रविधिको प्रयोगले थप सचेत र प्रविधिमैत्री बनाउने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!