भाँडा माझेर कमाएको मोबाइलले बाजुरामा आश्रम

ByBibas chetan

१६ बैशाख २०७६, सोमबार २१:५९ १६ बैशाख २०७६, सोमबार २१:५९ १६ बैशाख २०७६, सोमबार २१:५९

‘केपी खनाल’ कान्छो सरसफाइ अभियन्ताको नामले परिचित हुनुहुन्छ । तिनै कान्छो सरसफाइ अभियन्ता खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत करिब ५० लाख रुपैयाँ संकलन गरेर बाजुराको बूढीगंगा नगरपालिका ब्रम्हातोलामा अनाथ आश्रम बनाउनुभएको छ ।

कान्छो सरसफाइ अभियन्ता खनाल कामका लागि भारत नछिरेको भए बाजुरामा अनाथ आश्रम बन्थ्यो वा बन्दैनथ्यो, यसै भन्न सकिन्न । तर बाजुरामा अहिले बनेका चार – चार वटा कोठाका ५ वटा भवन, भान्छा घर र शौचालय निर्माणसँग केपी खनाल भारत भासिएको कथासँग रोचक सम्बन्ध छ ।

पैसाको दुःख, प्रायः पैसा कमाउन भारत नै जान्छन् सुदुरपश्चिमका नागरिक । त्यही संस्कृतिलाई पछ्याउँदै खनाल २०७२ सालमा भारत जानुभयो । उहाँले त्यही साल एस.एल.सी. परिक्षा दिनुभएको थियो । भारतको गल्ली गल्लीमा भौतारिंदा उहाँले रेष्टुरेन्टमा भाँडा माझ्ने काम पाउनुभयो । भाँडा माझ्न थालेको तीन महिनामा १५ हजार भारतीय रुपैयाँ कमाई भयो । त्यो रकमबाट उहाँले एउटा मोबाइल किन्नुभयो र पहिलो पटक फेसबुक अकाउन्ट खोल्नुभयो ।

केपी त्यो बेलाको दिन सम्झिदै भन्नुहुन्छ ‘मैले मेरो फेसबुकमा आफू सरहको भन्दा आफू भन्दा ठूलालाई साथी बनाउन थालें, फलो गर्न थालें र उहाँहरुबाट पनि धेरै कुरा सिक्न पाएँ ।’

त्यही भाँडा माझेर किनेको मोबाइलमा खोलेको फेसबुक अकाउन्टबाट उहाँले रकम संकलन गरेर बनाउनु भएको अनाथ आश्रममा बाजुराका १५ जना बालबालिकाले आश्रय पाएका छन् ।

बाजुरामा अनाथ आश्रम बन्नुमा पनि सुखद संयोग छ । काठमाडौमा हुने गरेका साप्ताहिक सरसफाइ अभियानमा उहाँको एक जना बाजुराका साथीसँग भेट भयो । उहाँ कन्सर्न बाजुरा क्लवका सदस्य हुनुहुन्थ्यो । कुराकानीको शीलशीलामा अनाथहरुका लागि भवनसम्म निर्माण गरिदिएमा त्यसको सञ्चालन र बालबालिकालाई चाहिने आधारभूत आवश्यकता क्लवले नै व्यहोर्ने कुरा भयो ।

खनालले बाजुराका अनाथ बालबालिकाका लागि भवन निर्माण गर्न फेसबुक मार्फत सार्वजनिक आव्हान गर्नुभयो । त्यसपछि उहाँलाई ग्रीन सिटी हस्पिटलका अध्यक्ष एवं समाजसेवी लोकबहादुर टण्डनको साथ मिल्यो । टण्डन चक्रपथ सरसफाइ अभियानका संयोजक हुनुहुन्छ ।

ग्रीनसिटीका अध्यक्ष एवं सरसफाइ अभियन्ता टण्डनको साथ पाएपछि उहाँ अझ हौसिनुभयो । को बाट कति रकमको प्रतिबद्धता आयो भन्ने सबै जानकारी उहाँले फेसबुक मार्फत नै सार्वजनिक गर्दै जानुभयो । एउटा पूण्य कार्यमा सहयोग गर्न पाउँदा सहयोगीहरुले यसलाई अवसरमा रुपमा समेत लिदै एक पछि अर्को सहयोगीहरु थपिदै जानुभयो ।

‘सात/आठ महिनामै ४३ लाख रुपैयाँ जत्ति संकलन भएछ, त्यसपछि कन्सर्न बाजुरा क्लवका साथीहरुलाई सम्पर्क गरी बाजुरा गएँ’ खनाल भन्नुहुन्छ ‘शिलान्यास गर्न मैले कोही कसैलाई आग्रह गरिन, म आफैले शिलान्यास गरें, अहिले चार – चार वटा कोठाका ५ वटा भवन, भान्छा घर र शौचालय बनेका छन् । अब यसको हस्तान्तरण हुन मात्र बाँकी छ ।’

सरसफाइ अभियन्ता खनालले यस अघि ‘भोकै छ हुम्ला’ नामक अभियानबाट ३/४ लाख रुपैयाँ संकलन गरी हुम्लामा खाद्यान्न सहयोग गर्नुभएको थियो । ९ दिनसम्मको कठिन यात्रापछि उहाँ हुम्लामै पुगेर खाद्यान्न वितरण गर्नुभएको थियो ।

यस्तै कैलालीमा ‘दशा लागेकोलाई दशैं’ नामक अभियानबाट २ लाख ५० हजार रुपैयाँ संकलन गरी दशैं मनाउन नसकेका निम्न आय भएका व्यक्तिहरुलाई सहयोग गर्नुभएको थियो ।

-washkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!