भोजपुर : सुक्खामा खानेपानी जाेगाउन एउटा गाउँमा पानी जोगाउन कुवामै ताल्चा लगाउने गरिएको छ । सुक्खा र गर्मी मौसम सुरु भएसँगै रामप्रसाद राई गाउँपालिका ५, मानेभन्ज्याङको रानागाउँ टोलका बासिन्दा खानेपानीको समस्याले कुवामा ताल्चा लगाएर पानी जोहो गर्ने गर्छन् । रानागाउँका करिब १६ घरपरिवारलाई बिहान बेलुका जेनतेन २/२ गाग्री खानेपानी पुग्ने गर्छ ।
खानेपानीको अभाव खटकिएका बेला कुवामा पानीको लापारबाहीले मुहान नरित्तियोस् भनेर कुवामा ताल्चा लगाउने गरेको स्थानिय सुमित्रा राना मगरले बताउनुभयो । गाउँका सबैलाई भने जति खानेपानी पुग्दैन । यो खबर कान्तिपुर दैनिकले छापेको छ । एकचोटिमा सबैलाई २ गाग्री जतिमात्रै खानेपानी उघाउन पुग्छ । त्यसपछि कुवाको पानी सकिन्छ । पानी थोरै पुग्ने भएकाले यसको लापरबाही नहोस् भनेर ताल्चा लगाएका हौं, उहाँले भन्नुभयो ।
पहिले यो कुवामा रानागाउँबासी मात्र नभई आसपासका ओडारे, जुकेपानी, अगौटे, लट्रीडाँडा टोलका गाउँलेलाई पनि खानेपानी लान र चलाउन सास्ती हुन्नथ्यो । तर पछि मुहानमा पानी सुक्दै गएसँगै कुवामा रातिराति जथाभाबी पानी लान थालेपछि कात्तिक पहिलो हप्ताबाट गाउँलेकै निर्णयमा कुवामा ताल्चा लगाउन थालिएको अर्का स्थानीय रामबहादुर मगरले बताउनुभयो ।
पहिलापहिला कुवाको पानीले सबैलाई मनग्गे पुग्थ्यो । तर पछि मुहानको सतह घट्न थालेपछि खानेपानी पुग्न छाड्यो । पछि खानेपानी कम भइरहेका बेला वल्लोपल्लो गाउँका मानिसहरू रातिराति आएर पानी लगेर जाने, बिहान खानेपानी लिन जाँदा कुवामा पानी हुन छाडेपछि ताल्चा लगाउन सुरु गर्यौुं उहाँले भन्नुभयो ।