छात्रामैत्री शौचालय नहुँदा महिनावारीका बेला गयल हुन्छन् छात्रा

ByBibas chetan

३० बैशाख २०७६, सोमबार ०६:३४ ३० बैशाख २०७६, सोमबार ०६:३४ ३० बैशाख २०७६, सोमबार ०६:३४

हुम्ला : हुम्लाको ताँजाकोटको धर्मोदय माविमा ३१८ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १९२ जना छात्रा छन् । कक्षा ६ देखि माथिका छात्राहरू महिनावारी भएको बेला विद्यालय आउँदैनन् । त्यत्तिबेला कक्षाकोठा खाली जस्तै हुने गरेको शिक्षकहरु बताउँछन् ।

विद्यालयमा छात्रामैत्री शौचालय र पानीको अभावमा हुम्लाका विकट गाउँबस्तीका छात्राहरू महिनावारी हुँदा विद्यालय जाँदैनन् । महिनावारी हुने छात्राहरुले महिनामा चार दिन विद्यालय गयल हुनुपर्छ । यस हिसाबले एक वर्षमा छात्राहरू ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन् ।

प्रधानाध्यापक गंगादत्त जोशीले आजभोलि पनि प्रायः छात्रा महिनावारी भएका बेला विद्यालय नआउने गरेको बताउनुभयो । धर्मोदय माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय र पानीको व्यवस्था नहुँदा महिनावारी भएका छात्राहरू समस्यामा पर्ने गरेका छन् ।

महिनावारी भएको बेला विद्यालयमा आउँदा विभिन्न समस्या भोग्नुपर्ने भएकाले महिनावारी भएको समयमा घरमै बस्ने गरेको विद्यालयकी छात्रा किसिन बस्यालले बताउनुभयो । ‘विद्यालयमा छात्राका लागि भनेर छुटटै शौचालय व्यवस्था छैन । महिनावारी भएको बेला प्याड फेर्ने ठाउँको त कुरै नगरौं, त्यसैले हामी घरमै बस्न बाध्य छौं’ किसिन बस्यालले भन्नुभयो ।

छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै शौचालयको अभाव छ । भएको शौचालय पनि जीर्ण छ । शौचालयमा पानी नहुँदा विद्यार्थीहरु अन्तै जान रुचाउने विद्यालयका प्रधानाध्यापक जोशीले बताउनुभयो ।

ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विद्यालयमा पानीको समस्या भएको स्वीर्कौ चाँडै पानीको व्यवस्था गर्न पहल भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!