लमजुङ, १४ जेठ (रासस) : गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करीब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नर्फकिएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा सोमबार राति ११ बजे इन्द्रबहादुर थापाको खेतमा मृतावस्थामा भेटिएपछि प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ । खबरलगत्तै भोर्लेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको थियो । चट्याङ लागेर मृतक साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले बताउनुभयो ।
उहाँका अनुसार शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ । आज साँखीको शव परीक्षण हुने प्रहरीले जनाएको छ । मृतक साँखीले मङ्गला माध्यमिक ११ कक्षाको परीक्षा दिएर बसेका थिए । त्यस्तै सोही स्थानकै स्थानीय कृष्णप्रसाद बगालेको एउटा राँगो चट्याङ लागेर मरेको छ । राँगो मर्दा करीब रु ७० हजार बराबरको क्षति भएको बगालेले जानकारी दिनुभयो ।