रंगशाला मात्र हाेईन आफै असुरक्षित: धुर्मुस

ByBibas chetan

१६ जेष्ठ २०७६, बिहीबार ०६:२५ १६ जेष्ठ २०७६, बिहीबार ०६:२५ १६ जेष्ठ २०७६, बिहीबार ०६:२५

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । चितवन भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जस्तापाताको बार बुधबार बिहान स्थानीयले डोजर चलाएर भत्काइदिएका थिए ।

नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।

धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए । “निर्माणाधीन क्रिकेट रंगशाला यस क्षेत्रको विकासका लागि कोषेढुंगा बन्दै थियो । रामपुरको मात्र नभइ समग्र चितवनको विकाको भरपर्दो आधार बन्दै थियो । यहाँका स्थानीयबासीले पनि त्यसको लाभ पाउँथे । तर, कुत्सित मनशाय बोकेकाहरूको उक्साहटमा लागे,” उनको दुःखेसो छ ।

डीपीआर बनेपछि मात्रै कम्पाउण्ड घेर्ने पक्षमा धुर्मुस थिए । तर, खुला ठाउँ हुनाले निर्माण सामग्री हराउने भय बढ्यो । दुर्व्यसनीहरू दिनदहाडै निर्माणधीन ठाउँमा आउन थालेपछि बाध्य भएर जस्तापाताले छेक्नुपरेको धुर्मुस बताउँछन् । “अनेक धाकधम्की सहँदै चारवटा एकीकृत बस्ती बनाएका थियौँ । बुधबारको घटनाले निकै विक्षिप्त बनाएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले अगुवाइ लिए पनि त्यो चितवनकै गौरवको कुरा थियो । तर, स्थानीयको चाहना रंगशाला बन्न दिने देखिएन,” धुर्मुस बताउँछन् ।

डोजर नै लिएर भत्काउन आइसकेपछि बिनासुरक्षा रंगशाला बनाउन नसकिने धुर्मुसको ठहर छ ।“मेरै ज्यान तलमाथि परे त केही थिएन । तर, फाउन्डेशनका कर्मचारीको ज्यान तलमाथि भए के हुन्छ ? यस्तो अवस्थामा मैले बोल्ड डिसिजन लिनुपर्ने हुन्छ,” धुर्मुसले पीडा पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!