विसं २०७६ साउन ९ गतेकाे राशिफल

ByBibas chetan

९ श्रावण २०७६, बिहीबार ०५:५८ ९ श्रावण २०७६, बिहीबार ०५:५८ ९ श्रावण २०७६, बिहीबार ०५:५८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । रोकिएका सरकारी काम सुल्झाउन सकिन्छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, यद्यपि कर्मक्षेत्रमा चाप बढ्नाले रतिराग तथा पारिवारिक सम्बन्धप्रतिको आकर्षणमा कमी देखिने छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अपराह्नपछि चन्द्रमाको शुभ फल प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ, किनभने दिउँसो भाग्यभावमा चन्द्रमाको प्रवेश हुनेछ । पारमार्थिक कामप्रति चासो बढ्ने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने मध्याह्नभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ । दिउँसो छैटौं भावमा चन्द्रमा जाने भएकाले संयम र अनुशासित भई अघि बढ्नु राम्रो हुन्छ । दिउँसोबाट व्यर्थका तर्क, बहस र वादविवादको परिस्थिति सिर्जना हुनेछ । विवाद भइ हाले पनि विजय र श्रेय तपाईंले नै पाउनु हुनेछ । आज आमा वा मामाको सल्लाहमा गरिएको काममा फाइदा हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक र सामाजिक काममा समय बित्ने दिन छ । बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । तर आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!