कस्ता सपना शुभ र कस्ता अशुभ मानिन्छन् ?

ByBibas chetan

१९ भाद्र २०७६, बिहीबार २०:२० १९ भाद्र २०७६, बिहीबार २०:२० १९ भाद्र २०७६, बिहीबार २०:२०

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

सपना निद्रित अवस्थामा देखिने दृश्य कुरा हो जुन मनको भित्री तहले देखेको हुन्छ । मान्छे मनमा अनेकौ कुरा खेलाउदै सुतेको हुन्छ त्यस्तै सपना देखेँ भन्दछ पनि । तर यस्ता विषयलाई स्वप्न शास्त्रले स्वीकार्दैन । सपना स्वस्थ चिर निद्रित मध्य अवस्थामा देखिएको हुनुु पर्दछ । तव मात्र उक्त सपना फलदायी हुन सक्छ । मानव मनको स्वप्न विशेषलाई लिएर अध्ययन गर्ने शास्त्र विशेषलाई स्वप्न शास्त्र भनिन्छ । स्वप्न शास्त्रलाई ज्योतिषको पूरकका रूपमा लिइएको छ । ज्योतिषको जातक र संहिता शास्त्रको पूरकका रूपमा स्वप्न विचारलाई स्वीकारिएको छ ।

मानव जीवनको आधा समय सुतेर नै व्यतित हुन्छ । सुत्नु स्वास्थ्यका लागि पनि लाभदायक नै मानिन्छ । यसको पनि निश्चित मात्रा हुन्छ । अति सर्वत्र वर्जयेत् भने जस्तै धेरै सुत्नु पनि हानिकारक मानिन्छ । यसैगरी स्वल्प निद्रा पनि स्वास्थ्यका दृष्टिले उपयुक्त हुँदैन । प्रांय गरी हामी रातमा सुत्छौँ र दिनमा जागा रहन्छौँ । दिनमा सुत्न शास्त्रले पनि वर्जित गरेको छ । सुताइको आनन्दतम अवस्था निद्रा हो । सुतेपछि शरीरका वाह्य अंगहरू शिथिल हुन्छन् भने भित्रि अङ्गहरू चलायमान अवस्थामा नै रहेका हुन्छन् । अहोरात्र खट्ने भित्री मानवीय अङ्गको तुलनामा वाह्य अङ्ग कमजोर मानिन्छन् । सुतेपछि मानसिक विश्रान्ति भने हुँदैन । शरीर सुते पनि मानव मन निरन्तर जागा र चिन्तित नै रहन्छ । यही चिन्ताको विषयले स्वप्न देखिन्छ भन्ने आजको आधुनिक धारणा छ । निद्रामा पनि मन सक्रिय रहन्छ । अनेकौँ वृत्तिहरू मनमा चलिरहन्छन् तिनै स्वप्नका रूपमा देखिन्छन् भन्ने मान्यता भन्दा अलि भिन्न पौरस्त्य मान्यता रहेको छ । आधुनिक विज्ञानले आत्माको अस्तिव स्व्ीकार गरेको छैन । त्यसैले पनि मन भन्दा अर्को वस्तु हाम्रो शरीरमा छैन भन्ने भौतिकवादी धारणा रहेको छ । तर अध्यात्मवादी चिन्तनले मन भन्दा पनि सूक्ष्मतम तत्व आत्मा रहेको स्वीकार गर्दछ ।

मान्छे हरेक दिन पुनर्जन्म पाउछ । किनकि हरेक मान्छे प्रत्येक दिन सुत्छ र ऊ चिर निद्रामा यो शारीरलाई विर्सिएर अन्त कतै रमण गरिरहेको हुन्छ । जव म शरीरमै छु भन्ने चेतना आउछ अनि उ हठात स्वप्नबाट व्युझने गर्दछ । चिर निद्रामा मान्छे अचेत रहेको हुन्छ । यस्तो अवस्था स्वस्थ मान्छेमा हरेक रात आउने गर्दछ । जबसम्म मान्छे चिर निद्रामा पृुग्दैन तवसम्म ऊ शारीरिक रूपमा स्वस्थ भएको अनुभव गदैन । निद्रा विग्रिएपछि शरीर आलस्य हुन्छ र जाँगर हराएर जान्छ । जब निद्रा पर्याप्त मात्रामा पुगेको हुन्छ त्यो दिन स्वच्छ र फूर्तिलो अनुभूति हुन्छ । निद्रा नपुगेको अवस्थालाई स्वस्थ भन्न सकिदैन । उक्त अवस्थाको सपना फलका लागि योग्य पनि हुँदैन ।

फलदायी सपना देखिने अवस्था
हामी सोच्छौ जतिखेर पनि देखेको सपना फलदायी हुन्छ । तर यो गलत धारणा हो । सपना फलदायी हुन हाम्रा शारिरीक एवं मानसिक थुप्रै विषयवस्तु उपयुक्त हुनु आवश्यक मानिन्छ । सपना फलादयी हुन सर्वप्रथम शरीर स्वस्थ हुनु आवश्यक छ । विरामी अवस्थामा हामी चिर निद्रित हुन सक्दैनौ । जबसम्म चिर निद्रा प्राप्त हँदैन तबसम्म त्यो सपना नभएर मनको एक विकारका रूपमा मात्र रहेको हुन्छ । यसैगरी मानसिक तनाव भएको अवस्थामा पनि सपना फलदायी हुुँदैन । अझ भनौ त्यो वास्तवमा सपना होइन मनोविकार मात्र हो,जो फ्रायडले विश्लेषण गरेका छन् । यसैगरी सुत्नेवित्तिकै देखेको सपनालाई पनि वास्तविक फलदायी सपना मानिदैन । मानिस पूर्ण निद्रित चिर अवस्थामा नै पुगेको हुनु पर्दछ । जव आफू सशरीर विस्तारामा सुतिरहेको छु भन्ने भावना हराएर शरीरहीन अवस्थामा मान्छे पुगेको हुन्छ त्यो सपना नै फलका लागि योग्य मानिन्छ । प्राय मध्य रात्रीको समयमा यस्तो निद्रा हरेक मानवलाई लाग्ने गर्दछ । जुन वेला आफ्नो शरीरलाई विर्सिएर मान्छे अन्त कतै अरु नै स्वरूप ग्रहण गर्न पुगेको हुन्छ त्यस्तो मस्त निद्रित अवस्थाको समयमा देखेको सपना भने फलदायी हुने मानिन्छ ।

सपनाको फल

सपनाको फल विभिन्न शास्त्रहरूले बताएका छन् । ज्योतिषका संहिता र जातक शास्त्रले पनि यसको आंशिक चर्चा गरेका छन् । दियो वत्ती बलेको सपनामा देखे शुभ हुन्छ भने निभेको देखे अनिष्टकारी मानिन्छ । खुला सफा आकास,उदीयमान चन्द्र ,सूर्य,तारा देखे कार्य उन्नति हुन्छ । धुमिल आकास,धुमिल चन्द्र सूर्य तारा देखे अनिष्टको संकेत मानिन्छ । जुका,सर्प,विच्छि देखे पुत्रलाभ,प्रतिष्ठा मिल्ने हुन्छ । यसैगरी सपनामा कन्या देखिइन् भने धन प्राप्त हुन्छ । सपनामा जमिन खनेको ,पानी निकालेको देखे धन लाभ हुन्छ । सेतो फूलको माला पद प्रतिष्ठाको सूचक हो । पलास,रुवा,सेतो वस्त्र, रातो गुराँस सपनामा देखे ठुलो कष्ट पर्न सक्ने सम्भावना रहन्छ । मरेको मूर्दा, अनि आफू मरेको देखियो भने आयु बढ्ने कुरा बताइएको छ । मसानघाटमा काठ,तृण,फलाम,झारपात वा कालो मसी देखे निकै कष्ट मिल्नुका साथै रोग र शोकले सताउन सक्दछ । चपल, ठुलो रातो फुलको माला,मास,मुग देखियो भने शरीरमा घाउ चोट लाग्नुका साथै समस्याले पनि सताउन सक्छ । केराको फल,दही खाएको सपना लाई उत्तम मानिन्छ । यस्तो अवस्थामा धन आगम हुनुका साथै पुत्र प्राप्ति समेत हुन्छ भन्ने शिखरनाथमा उल्लेख पाइन्छ । यसैगरी पानी परेको देखियो भने अस्वस्थता बढ्छ । यसैगरी दाँत झरेको,कपाल झरेको देखियो भने पनि विरामी पर्ने हुन सक्छ । बाजागाजा सहित नाचगान गरेको देखियो भने पनि अशुभ मानिन्छ । फल र फूल लागेको वृक्ष भने शुभ फलदायी मानिन्छन् । यसैगरी सेतो सर्पले टोककेको देखियो भने अकस्मत्् धन लाभ हुन्छ । नदी,तलाउ,नदी तरेको ,सेतो पर्वत देखियो भने पनि धन लाभ हुन्छ । पुस्तक,ब्राह्मण,जलपूर्ण घडा,गहना र बस्त्रले सज्जित युवती देखियो भने पनि धन आगम हुने कुरा वताइएको छ । गाई ,घिउ,सेतो घर,आगो बलेको देखिए इच्छाएको काम बन्नुका साथै धन लाभ पनि हुन्छ ।

अँध्यारो दुःख कष्टको प्रतीक हो जो सपनामा पनि दुःखदायी नै हुन्छ । भैसी वा ऊटमा चढेर दक्षिण दिशातिर गएको सपना देखिए भयानक शारीरिक कष्ट पर्न सक्छ । घर,पर्वत,वृक्ष,घोडा,हात्ती ढलेको देखियो भने पनि आपत्तिजनक मानिन्छ । यसैगरी रगत,अँगार,खरानी,दाँत फुस्केको,रौँझरेको देखिए धन हानी हुनुका साथै मान नाश हुन्छ भनी बताइएको छ । कुक्कुरं स च मार्जारो गोधा नकुलमेव च । यदि पश्यति स्वप्नान्ते विघ्नस्तस्य भविष्यति ।। गर्जिवृष्टिः समुत्पन्ना अग्निदाहं च विग्रहम् । यदि पश्यति स्वप्नान्ते भवेद्राजकुलभयम् ।। (ज्योतिःसार, मिश्रकप्रकरण, श्लो. १६०–१६१) अर्थात् कुकुर, विरालो, न्याउरी सपनाको अन्त्यमा देखिए भने विघ्न पर्ने हुन्छ । घनवर्षा,अग्निदाह र विग्रह सपनाको अन्तिममा देखे राजकुलदेखि भय हुन्छ । यसैगरी नगर गाँउ जलेको देखे आयु,ज्ञान, यश र बलको नाश गर्छ । यसैगरी भोक, प्यास, निद्रा, आलस्य, निष्ठुरता देखे दुर्भिक्ष फल बताइएको छ ।

यसैगरी सपनामा अनार खाएको देखे धन प्राप्ति,ओछ्यान लगाएको देखे दीर्धायु,औठी लगाएको देखे धन लाभ,कपाल कोरेको देखे ऋण मुक्ति हुन्छ भनी शास्त्रमा वताइएको छ । कैँची देखे झगडा, घर बनाएको देखे प्रसिद्धि,घाम लागेको देखे पदोन्नति,घोडा चडेकोे देखि कीर्ति बढ्ने हुन्छ । पानी पिएको देखे राज्यलाभ,गाई देखे भूमि लाभ हुन्छ । विरालो देखिए घरमा चोरी हुन सक्छ , शत्रु बढ्न सक्छन् । मरेको मान्छेसँग कुराकानी गरे मनोकांक्षा पूरा हुन्छ । यसैगरी रत्न मणि देखे दुःख बढ्छ । सुख्खा अन्न खाए कष्ट,व्यर्थ परेशानी हुन सक्छ । यसैगरी सुपारी खाएको देखे दुःखबाट निवृत्ति हुन्छ भनी शास्त्रमा बताइएको छ ।

पत्रं पुष्पं फलं तोयं स्वप्नान्ते यो लभेन्नरः । सर्वसिद्धिमवाप्नोति जीवेद् वर्षशतं नरः ।। (ज्योतिःसार, मिश्रकप्रकरण, श्लो. १४९) अर्थात् पत्र, फूल, फल र जलको सपना देखे सर्वसिद्ध प्राप्त हुन्छ । पान, दही, शंख, नगरा,मोती चमेलीको फूल, वृक्ष, कमल देखे धन मिल्ने कुरा ज्योतिसारमा बताइएको छ । यसैेगरी सूर्य चन्द्रमाको मण्डल देखे लक्ष्मी प्राप्त हुन्छ । दही देखे आयु वृद्धि,गहुँ देखे धनागम हुन्छ । जौ देखे यज्ञ र सस्र्युँ देखे विद्या प्राप्ति हुन्छ । देवता, किन्नर, गन्धर्व शिष्यगण देखे कार्यसिद्धि हुन्छ ।
अशुभ सपना देखेर निद्रा परेन भने आठ हजार गायत्री मन्त्रले रक्तचन्दनको काठमा घिउ सहित हवन गर्नु पर्छ भनी बताइएको छ । यसैगरी कश्यप, अत्रि, वशिष्ठ, शाण्डिल्य, भृगु, गौतम, देवल, भरद्वाज, माण्डव्य,सनातन, पराशर, विश्वामित्र र वृहस्पतिलाई स्मरण गर्नाले पनि दुःस्वप्नको फल नष्ट हुन्छ भनी बताईको छ (ज्योतिःसार, मिश्रकप्रकरण,पृ.३९९) ।

सपना दिव्य चक्षु हो । यसको शुभाशुभ फल अवस्था अनुसार भिन्न भिन्न हुन्छ । मध्य निद्रामा देखेको सपनाको मात्र सही फल घट्ने भएकाले सर्व प्रथम कस्तो अवस्थामा सपना देखिएको हो विचार गर्नु पर्दछ । निरोगी स्वस्थ अवस्थामा चिर निद्रामा देखिएको सपना फलदाय हुने भएकाले विज्ञ व्यक्तिसँग परामर्श गरेर मात्र फल श्रवण गर्नु उपउयुक्त हुन्छ । किनकि अवस्था अनुसार फल भिन्न भिन्न हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!