‘जन्म दिने आमा-बुबा प्रति छोराहरुको कर्तब्य भनेको वहाँहरुको राम्रो हेरचाह गर्नु, सु:ख दु:खको ख्याल राख्नु हो ।’ यो मान्छेको भनाई हो तर फरक पाईन्छ । आउनोस्, त्यस्तै एउटा गजुरीयल कथा सुनाैं ।
उमेर छँदा बाबुले एउटा जमिन किनेका थिए । ऐले त्यो जमीन छेउबाट ६ लेनको सडक बनेको छ । उनिहरुका दुइभाई छोरा छन् । उनिहरु कहलिएका ब्यापारीमा पर्दछन् ।
प्रशस्तै सम्पति आर्जन गरेर त्यहि जमिनको दुई छेउमा सडकतिरै फर्काएर भब्य महल खडा गरेका छन् । घरको बनोट आकर्षक र प्रतिस्पर्धात्मक देख्दा उनिहरुको बिलासी महत्वकांक्षा राम्ररी झल्कन्छ ।
आमा बाबु पाल्ने कुरामा पनि दुई दाजु भाईको खुब प्रतिस्पर्धा हुँदै आएको रहेछ । कस्ले पाल्ने भन्ने टुङ्गो नलागुन्जेलाई दुई महलका बिचमा बचेको थोरै जमिनमा बृद्ध भत्ताबाट सुकि थुकी गरेर बँचाएको वहाहरुकै पैसाले सानो टहराे बनाइदिएछन्।
छोराहरु सडकतिरको बरण्डामा निस्किएर घाम ताप्दै बाहिरी दृष्यमा रमाइरहँदा बुबा आमा त..ल भुईंको पेटीमा चिसो लागेर ख्वाङ, ख्वाङ खोकि रहेका हुन्छन् । दिनभर ब्यापार, राजनीति, समाजसेवा, परिवर्तन र विकासका ठुल्ठुला कुरा गरेर फर्किए पनि छोराहरुको बुद्धिको बिर्को कहिल्यै खुलेनछ ।
एक दिन एक जना छिमेकीले सम्झाउँदै भने- ‘तपाईंहरु आलिसान महलमा, बुबाआमा टहरामा ! यो सुहाएन, एउटा अलि बस्न लायक घर बनाइदिनुस् ।
अहिले लोकलाजका कारण घर बनाउने कुरामा दुबै भाई तयार रहेका रहेछन् । श्रोत/साधनको कुनै कमी छैन । तर, त्यहाँ दुइटै भाइको एउटा सर्त के रहेछ भने, घर बनाउनु भन्दा पहिले जमिनको अधिकार आफुले मात्र पाउनु पर्दछ !
बुबाआमा भने दुबै छोराहरुलाई बराबर देख्न चाहान्छन् । यो कुराले वहाँहरुको जिन्दगी त्यहि टहरामा बित्ने तर्फ संकेत छ।
हो, आज पनि हाम्रो नेपाली समाजमा सम्पति प्रतिको आशक्ति र पैतृक सम्पतिमा सन्ततीको अधिकारले गर्दा यस्ता लोभिपापी र कर्तब्यच्युत सन्तानको कमी छैन ।
हैन भने, अलिकति पनि नैतिकता र जिम्मेवारी बोध हुँदो हो त यि दुइभाईले मिलेर एउटा घर बनाउने र आफ्ना माता पिताको संरक्षण गर्दै जाने नैतिक साहस देखाउन सक्नु पर्दथ्यो । हाे कि हैन, भन्नोस् त !
-www.gajureal.com