ट्वाइलेट नबनाइदिएको भन्दै सात वर्षकी छोरीले बाबुविरुद्ध प्रहरीमा उजुरी दिएपछि…

ByBibas chetan

२६ मंसिर २०७५, बुधबार २०:२९ २६ मंसिर २०७५, बुधबार २०:२९ २६ मंसिर २०७५, बुधबार २०:२९

उजुरीसहित प्रहरी कार्यालयमा बालिका

मंसिर २६
घरमा चर्पी नभएकै कारण कसैको विवाह रोकिन्छ । चर्पी नभएकै कारण समाजमा आफ्नो इज्जत हुँदैन । यस्तैयस्तै समस्यामा आधारित भएर बलिउडमा एउटा चलचित्र नै बन्यो ‘ट्वाइलेट : एक प्रेम कथा’ । अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेरलगायतका कलाकार अभिनित यो चलचित्र मथुरा नजिकैको गाउँको कहानी हो ।

अधिकांश ग्रामिण भारतीयको कथा बोल्ने यो चलचित्रले भारतमा मात्रै होइन, चीनमा पनि राम्रै प्रशंसा बटुल्न सफल भयो । विश्वभरका चलचित्र समीक्षकबाट यसलै राम्रै प्रतिक्रिया पायो । भारतमा शौचालयको विषयले यतिसम्म हुँदो रहेछ भन्ने कुरा पूरै विश्वले थाहा पायो ।

फेरि एकपटक यो विषय चर्चामा आएको छ । यसपटक भने कुनै चलचित्रका कारण होइन, सात वर्षीया भारतीय बालिकाका कारण यो विषय चर्चामा आएको हो । घरमा ट्वाइलेट नबनाएको भन्दै एक बालिकाले आफ्नै बाबुविरुद्ध उजुरी दिएपछि यो घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाएको हो ।

भारतमा सात वर्षकी एक बालिकाले ट्वाइलेट नबनाएको आरोपमा बावुविरुद्ध प्रहरीमा उजुरी गरेकी छिन् । हानिफा जारा नाम गरेकी ती बालिकाले प्रहरीलाई दिएको उजुरीमा आफूलाई बाबुले ट्वाइलेट बनाइदिन्छु भनेर झुट बोलेको भन्दै पक्राउ गर्न अनुरोध गर्दै उजुरी दिएकी हुन् । उनले आफूले खुल्ला ठाउँमा चर्पी बस्दा लाज लाग्ने गरेको पनि बताएकी छिन् ।

धेरै भारतीय नागरिकहरु अझै पनि ट्वाइलेट प्रयोग गर्दैनन् । यूनिसेफका अनुसार झण्डै ५०० मिलियन नागरिक अझै खुल्ला ठाउँमा चर्पी बस्ने गरेका छन् । धेरैले ट्वाइलेट बनाएर पनि त्यसको प्रयोग गरेका छैनन् । तमिलनाडुको अम्बुरमा घर भएकी हानिफाको घरमा ट्वाइलेट छैन । उनका केही छिमेकीको घरमा भने ट्वाइलेट रहेको छ । त्यही देखेर उनले आफ्ना बुबालाई घरमा ट्वाइलेट बनाउन आग्रह गरेकी थिइन् । बाबुलाई ट्वाइलेट बनाउन अनुरोध गर्दा उनी नर्सरीमा पढ्थिन् ।

‘बाहिर गएर ट्वाइलेट बस्दा जब मान्छेहरुले मलाई हेर्थे, मलाई साह्रै लाज लाग्छ’, उनले बीबीसीसँग भनिन् । विद्यालयमा पढ्दा खुल्ला ठाउँमा ट्वाइलेट बस्दा रोग लाग्ने थाहा पाएपछि उनले बाबुलाई चर्पी बनाउन अनुरोध गरेकी थिइन् ।

उनले प्रहरीलाई दिएको उजुरीमा बाबुले कक्षामा सबैभन्दा प्रथम भएमा ट्वाइलेट बनाइदिने आश्वासन दिएका थिए । ‘मैले नर्सरीदेखि ‘क्लास टप’ गर्दै आएको छु’, उनले उजुरीमा लेखेकी छिन्, ‘म अहिले दुई कक्षामा पढ्छु । बुवाले अझै मलाई क्लास टप गरे ट्वाइलेट बनाइदिन्छु भन्नुहुन्छ । यो ढाँट्ने उपाय हो । त्यसैले उहाँलाई पक्राउ गर्नुहोला ।’

पक्राउ गर्न नमिले प्रहरीले बाबुलाई ट्वाइलेट बनाउने समयसीमा तोकेर आफूसँग सम्झौता गराइदिनुपर्ने जनाएकी छिन् । तर उनका बाबुले आफूले ट्वाइलेट बनाउन सुरु गरेको तर पैसा नभएर बनाउन नसकेको बताएका छन् । उनले आफू अहिले बेरोजगार रहेकाले ट्वाइलेट बनाउन अप्ठ्यारो भएको बताएका छन् ।
‘ट्वाइलेट बनाउन केही समय दिन मैले छोरीसँग आग्रह गरेँ’, बालिकाका बाबुले भनेका छन्, ‘तर उनी मसँग बोल्न छाडिसकेकी छिन् किनकी मैले उनलाई दिएको आश्वासन समयमा पूरा गर्न सकिनँ ।’

तर उनकी छोरी हानिफा आफ्ना बाबुको अवस्थाप्रति सहानुभूति राख्दिनन् । ‘मैले कहिलेसम्म एउटै कुरा सोधिरहने ? उहाँले मलाई जहिल्यै पैसा छैन भन्ने जवाफ दिएर माग पूरा गरिदिनुहुन्न । त्यसैले म प्रहरीकोमा आएको हो ।’

गएको सोमबार उनी आफ्नो आमासँग विद्यालय नजिकैको प्रहरी कार्यालय पुगेकी थिइन् । ‘उनी आफ्नो ब्यागमा ट्रफी र सर्टिफिकेट बोकेर आएकी थिइन् । उनले सबै ट्रफी र सर्टिफिकेट मेरो डेस्कमा मिलाएर राखिन् । अनि भनिन्, के तपाईँले मलाई ट्वाइलेट बनाइदिनुहुन्छ ?’, प्रहरी अधिकृत ए भालारमाथीले भनिन् ।

प्रहरी अधिकृत भालारमाथीले भनिन, ‘बालिकाका बुवा आफ्ना छोरी र श्रीमती प्रहरीकोमा पुगेको देखेर अप्ठ्यारो पो भयो कि भनेर प्रहरी भएको ठाउँमा आएका थिए । तर त्यहाँ आएपछि उनी आफै छक्क परेका थिए ।’

बालिकाले प्रहरीमा उजुरी लेख्न भने आफ्नै बाबुसँग सिकेकी थिइन् । उनका बुवा पनि गाउँका धेरै मान्छेहरुको उजुरी लेखिदिने काम गर्थे । बालिका हानिफाको उजुरीबाट प्रहरी अधिकारीहरुले पनि सहनुभूति प्रकट गरेका थिए । उनीहरुले सहयोग गर्ने समेत सोच बनाएको जनाएका छन् । ती बालिकाले गाउँमा बस्ने पाँचसयभन्दा बढी नागरिकलाई ट्वाइलेट बनाउन सचेत बनाएको प्रहरी अधिकारीले बताएका छन् ।

–बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!