सोलुखुम्बुको तापक्रम माईनस १८

ByBibas chetan

१३ पुष २०७५, शुक्रबार ०९:०८ १३ पुष २०७५, शुक्रबार ०९:०८ १३ पुष २०७५, शुक्रबार ०९:०८

सोलुखुम्बु, पुस १३ गते । हिमाली जिल्ला सोलुखुम्बुको तापक्रम माईनस १८ सम्म झरेको छ । चिसोका कारण विहान बेलुका बाहिर निस्कन मुस्किल भएको स्थानीय बताउछन् । चिसोका कारण सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुको जनजीवन प्रभावित बनेको छ ।
आज विहान अत्याधिक चिसो भएको कारण कामकाजमा समस्या भएको स्थानीयले बताएका छन् । सोलुखुम्बुका आधिकारीक मौसम मापन केन्द्र नभएपनि एभरेष्ट भ्यू होटलको तथ्याङ्क अनुसार जिल्लाको माथिल्लो क्षेत्रको तापक्रम माइनस १८ मा झरेको हो । एभरेष्ट भ्यु होटलका म्यानेजर आङनुरु शेर्पाका अनुसार हाज सबैभन्दा बढि चिसो बढेको हो । चिसोका कारण पर्यटकको आगमन पनि कम भएको पर्यटन व्यवशायी लामाकाजी शेर्पाले बताउनु भयो ।‘पर्यटटक पनि सिजनको जस्तो आउदैनन् त्यसैले अधिकाँश होटल बन्द छ ।’
हिउँपर्ने सिजन सुरु भएकोले माथिल्लो क्षेत्रका व्यवशायीहरु फर्किसकेकाले माथिल्लो क्षेत्रको फाट्टाफुट्ट मात्र होटल खुलेको छ । नाम्चे र खुम्जुङभन्दा माथिल्लो क्षेत्रमा पर्यटकको पनि आगमन न्युन रहेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । चिसो बढेकोले सोलुखुम्बु आउने पर्यटक पनि माथिल्लो क्षेत्रमा जान नसक्ने भएकोले छोटो दुरीका यात्रा तय गरेर भ्रमणमा आउने गरेका छन् ।
अहिले चिसो बढेसँगै जिल्लाको माथिल्लो क्षेत्रमा रहेका व्यवशायीहरु बाहिर निस्कन नसकेको खुम्जुङका मिङमा शेर्पाले बताउनुभयो । त्यहाँका स्थानीयहरु गुईठा तापेर घरभित्रै बसिरहेको बताउनुभयो । जिल्लाको गोरक्सेप, लवुचे, थाङ्नाक, गोक्यो लागयतका क्षेत्रमा बढि चिसो भएपनि मौसम मापनको साधन नभएकोले केहि थाहा नभएको व्यवशायी पृथु राईले बताउनु भयो । त्यस क्षेत्रका ताल तथा पोखरीमाथि हिड्न मिल्ने गरि पानी जमेको राईले बताउनु भयो ।
त्यस्तै सोलुखुम्बुको सदरमुकाम सल्लेरीको तापक्रम पनि माईनसमा झरेको छ । जिल्ला वागवानी केन्द्र फाप्लुको तथ्याङ्क अनुसार माईनस ६ मा झरेको छ । विहान वेलुका सल्लेरीमा पनि पोखरीको पानी जम्न थालेको छ भने धाराको पानी धारा मै जम्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!