शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते

ByBibas chetan

२० जेष्ठ २०७६, सोमबार १०:१७ २० जेष्ठ २०७६, सोमबार १०:१७ २० जेष्ठ २०७६, सोमबार १०:१७

रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् ।

घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ ।

उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ । जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा. शर्माले बताए ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन् ।

‘विद्यार्थीहरू लाइन लाग्दै थिए, हामी पनि स्कुलमा आइपुग्यौं,’ बाँठाले भनिन्, ‘मिसले किन ढिलो आयौ भनेर हामीलाई लौराले धमाधम हान्न थाल्नुभयो । अरू शिक्षकशिक्षिका हेर्न नसकेर अफिसतर्फ दौडिनुभयो ।’

शिक्षिकाको कुटाइबाट घाइते हुने अन्य विद्यार्थीमा प्रेम पुन, सन्तोष बुढा मगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशीला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली छन् । दुखाइका कारण रातदिन सताउने र लेख्न, पढ्नसमेत नसकेको अभिभावक प्रताप घर्तीले बताए ।

केही समयअघि उनै शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीले बताएका छन् । वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए । आजकाे रमजधानी दैनिकमा समाचार छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!