एकपटक रुसी लेखक टल्स्टोयसामु एक युवक आए र भने, ‘महाशय, तपाईं मलाई सहायता गर्नुस् । म धेरै चिन्तित छु । मसँग यतिवेला फुटेको कौडी पनि छैन ।’ टल्स्टोयले उनको समस्या सुनेपछि गम्भीर हुँदै भने, ‘तिमी चिन्ता नलेऊ युवक, मेरो एउटा निकै मिल्ने साथी व्यापारी छ ।
उसले तिमीलाई पक्कै सहयोग गर्नेछ । ऊ मानिसको आँखा किन्ने गर्छ । तिम्रो आँखाको मूल्य उसले २० हजार दिनेछ आफ्ना आँखा बेचिहाल र राम्रो पैसा कमाऊ ।’
‘हैन, म आफ्नो आँखा बेच्न सक्दिनँ,’ सो युवकले डराउँदै भन्यो । टल्स्टोयले उस्तै गम्भीर स्वरमा फेरि भने, ‘आँखा नबेच्ने भए पनि केही छैन । उसले हात पनि किन्छ ।
तिम्रो हातको मूल्य उसले १५ हजार त अवश्यै दिनेछ ।’ उनको भनाइ सुनेपछि सो युवकले डराउँदै टाउको अस्वीकृतिमा हल्लायो र अलि आवेशमा आउँदै भन्यो, ‘अहँ, मलाई तपाईंबाट यस्तो जवाफको आशा थिएन । मैले त तपाईंबाट निकै ठूलो सहयोगको अपेक्षा गरेर पो आएको थिएँ ।’
त्यो युवक रिसाएको देखेर पनि विचलित नभई टल्स्टोयले भने, ‘मलाई तिम्रो समस्याको अनुभूति छ, यसैले म भन्दै छु तिम्रो लागि यस्तो व्यापार धेरै राम्रो हुनेछ । तिमीलाई सम्पन्न बन्नु छ भने एक लाख रुपैयाँ लिएर आफ्नो सारा शरीर बेचिदेऊ । सधैँका लागि समस्याबाट छुट्कारा मिल्नेछ ।’‘एक लाख त के म एक करोडमा पनि आफ्नो अमूल्य शरीर बेच्दिनँ,’ सो युवकले चिच्याउँदै भन्यो ।
टल्स्टोयले मुस्कुराउँदै भने, ‘जुन मानिस आफ्नो शरीर एक करोडमा पनि बेच्न चाहँदैन, त्यही मानिस आफूसँग केही छैन भन्दै छ । यो सम्पूर्ण शरीर नै त हो हाम्रो सम्पत्ति । इमानदारीपूर्वक मिहिनेत गर । सुनचाँदी त के चन्द्रसूर्य नै तिम्रो हातमा आउन सक्छ ।’त्यो युवकले बल्ल टल्स्टोयको भनाइको रहस्य बुझ्यो र भन्यो, ‘म तपाईंप्रति आभारी छु । आज तपाईंले मेरा आँखा खोलिदिनुभयो ।’