एकपटक गौतम बुद्ध आफ्ना शिष्यका साथ संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए । यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ । तर, हजुरले आजसम्म हामीलाई मानिसको मृत्युपश्चात् के हुन्छ भन्ने विषयमा केही पनि भन्नुभएको छैन ।

उनको जिज्ञासा सुनेर बुद्ध मुसुक्क हाँसेर गम्भीरतापूर्वक उनले भने– हो त है, मैले यसबारे तिमीहरूलाई केही पनि भनेको छैन । ठिकै छ आज म तिमीहरूलाई यसबारे भन्नेछु । तर, यसबारे भन्नुअघि तिमीहरू मेरो एउटा प्रश्नको जवाफ देओ । उनका शिष्यले भने– आज्ञा होस् प्रभु ! बुद्धले भने– एकजना मानिस सुनसान जंगलको बाटो कतै जाँदै थियो । अचानक कतैबाट आएर एउटा विषालु वाण उसको शरीरमा घुस्यो । यस्तो अवस्थामा उसले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको वाण हटाउनु ठीक हुन्छ कि त्यो वाण कसले चलाएको थियो, कताबाट आएको थियो र कसलाई लक्ष्य गरेर चलाइएको थियो, त्यो पत्ता लगाउनु उचित हुन्छ ? प्रश्नकर्ता शिष्यले जवाफ दिए– उसले सबैभन्दा पहिले शरीरमा घुसेको वाण निकाल्नुपर्छ । अन्यथा वाणको विष पूरै शरीरमा फैलिएर उसको ज्यानै पनि जान सक्छ ।

शिष्यको जवाफ सुनेपछि बुद्धले भने– तिमीले ठीक भन्यौ । अब तिमी मलाई अर्को एउटा प्रश्नको जवाफ देऊ । हामीले सबैभन्दा पहिले यस जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक हुन्छ कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक हुन्छ ? बुद्धको प्रश्न सुनेपछि शिष्यको जिज्ञासा शान्त भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!