जाडोमा किन हातखुट्टा सुन्निन्छ? कसरी बच्ने?

ByBibas chetan

२७ पुष २०७५, शुक्रबार १२:५५ २७ पुष २०७५, शुक्रबार १२:५५ २७ पुष २०७५, शुक्रबार १२:५५

जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ। त्यसमध्ये ‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।

चिलब्लेन्सले रगतका मसिना नसामा खराबी ल्याउँछ। जति चिसोमा खेल्यो त्यति नै यो समस्या बल्झिनेगर्छ। हातखुट्टाका औंलाको टुप्पा, नाकको टुप्पो, कपडाले नछोप्ने भाग आदिमा यस्तो समस्या देखापर्छ। धेरै चिसोले गर्दा शरीरको रगत सञ्चालनमा बाधा पुग्न सक्छ।

विशेषगरी, पुरुषलाई भन्दा महिलालाई यो रोगले सताएको पाइन्छ। त्यसैगरी पुरुषहरुमा पनि मोटाघाटा भन्दा दुब्ला–पातलालाई यसले चाँडो सताउँछ।

महिलामा पनि खासगरी दुब्ला–पातला नै चिलब्लेन्सको जोखिममा पर्छन्। अर्को कारण भनेको, घरधन्दामा बढी समय दिने महिलालाई, चिसो पानीमा काम गर्ने महिलालाई यस्तो समस्या देखिने गर्छ। चिसो पानीमा काम गर्ने तर आफ्नो स्याहार नगर्ने महिलालाई यो रोगले सताउने गरेको पाइन्छ। सबैलाई चिसोको समान महसुस भए पनि केही मान्छेलाई मात्र यो रोगले चिसो मौसममा सताउँछ। जसले गर्दा चिसो मौसममा हुने थाहा भए पनि यो रोग के कारणले गर्दा लाग्छ भन्ने पत्ता लागेको छैन।

लक्षण
– जुन भागमा चिसोको मात्र बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ,
– चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ,
– हातखुट्टा झमझम गर्छ,
– पानीको फोका आउन थाल्छ,
– त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगर घाउ बढेर अल्सरसमेत हुन सक्छ।

कसरी बच्ने ?
यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।

चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो। चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो। रगत सर्कुलेसनलाई बढाउने उपाय लगाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

घरेलु उपायले यो रोग निको भएन भने औषधि सेवन गर्न पनि सकिन्छ। तर, अर्को सिचो मौसममा फेरि समस्या बल्झिन सक्छ। त्यसैले यसको मुख्य उपचार भनेकै हातगोडा, कपडाले नछोप्ने अंगलाई सकेसम्म तातो बनाएर राख्ने र मोस्चराइजिङ क्रिमले मालिस गर्ने नै हो।

यसले धेरै दुःख दिएमा तुरुन्तै उपचार गर्नुपर्छ, नभए घाउ बनेर थप दुःख दिन सक्छ।

यदि, चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला सम्बन्धी चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्न सकिन्छ। त्यस्ता औषधि खासगरी चिसोले खुम्चिएर बसेका नसालाई खुलाउने प्रकृतिका हुन्छन्।

-डा सञ्जुबाबु श्रेष्ठ/स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!