शिक्षा विदेश जाने लाइसेन्स बन्नुहुँदैन – शिक्षामन्त्री

ByBibas chetan

२० चैत्र २०७५, बुधबार २३:३० २० चैत्र २०७५, बुधबार २३:३० २० चैत्र २०७५, बुधबार २३:३०

पोखरा, २० चैत (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा विदेश जाने लाइसेन्स बन्न नहुने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको आज यहाँ आयोजित सोह्रौँ दीक्षान्त समारोहमा उहाँले रोजगारीका लागि देशको जनशक्ति विदेशिनु राष्ट्रको समृद्धि र विकासका लागि बाधक हुने बताउनुभयो ।

“शिक्षा मानवजातिको एउटा अनमोल सम्पत्ति हो, आभूषण वा गहना हो”, शिक्षा मन्त्री पोखरेलले भन्नुभयो, “शैक्षिक संस्था सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तथा सीप सिक्ने सिकाउने थलो भएकाले मानवजातिलाई सभ्य, दक्ष र ज्ञानी बनाउनु आजको आवश्यकता छ ।”

समयको मागलाई आत्मसात् गरी त्यही किसिमको शिक्षा नीति आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । दीक्षान्त समारोहमा विभिन्न सङ्कायका पाँच हजार ५२८ विद्यार्थी दीक्षित भएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले विभिन्न सङ्कायका डीन लिस्टमा पर्न सफल विद्यार्थीलाई दीक्षित गर्नुभयो ।

अहिलेको शिक्षा प्रणालीमा नैतिक शिक्षाको अभाव रहेको बताउँदै उहाँले आदर्श र मर्यादापूर्ण विद्या आर्जनको सट्टा बन्द, हडताल र आन्दोलनले प्रश्रय पाएकामा दुःख व्यक्त गर्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका चार आङ्गिक महाविद्यालय, चार संयुक्त आङ्गिक महाविद्यालय र ५८ सम्बन्धन प्राप्त महाविद्यालयमार्फत विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हँुदै आएको प्रा चिरञ्जीविप्रसाद शर्माले जानकारी दिनुभयो ।

विश्वविद्यालयमा कुल ५६ कार्यक्रम सञ्चालनमा रहेका छन् । दीक्षान्तका अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्न सफल विज्ञान तथा प्रविधि शङ्कायका सुशील तिमिल्सेना र व्यवस्थापन सङ्कायकी दिव्याज्योति पण्डितलाई कुलपति पदकबाट सम्मान गरिएको थियो । स्नातक तहको व्यवस्थापन सङ्कायका प्रनिसा घिसिङलाई उपकुलपति पदक प्रदान गरिएको थियो । त्यस्तै विसं २०७५ को ओसीम गोल्ड मेडलबाट कम्युटर एप्लिकेशन स्नातक तहमा सबैभन्दा बढी अङ्क ल्याउने नविनकुमार कलवारलाई सम्मान गरिएको थियो भने लक्ष्मी हाउस पोखराले स्थापना गरेको लक्ष्मी विद्या पदकबाट व्यवस्थापन सङ्कायकी दिव्याजोति पण्डितलाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!