नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । कति अभिभावकले यही सत्रदेखि आफ्नो बालबच्चालाई पहिलो पटक विद्यालय पठाउँदै होलान् । बच्चालाई पहिलो पटक विद्यालय पुर्याउँदा आमाबुवा केही रोमाञ्चित हुन्छन् । एक किसिमको खुसी पनि जाग्छ । साथसाथै अज्ञात भय पनि ।
साना बच्चालाई पनि थाहाँ हुँदैन कि, विद्यालय किन जाने ? पुस्तक किन पढ्ने ? आमाबुवासँग किन छुटिएर बस्ने ?
सुरुका दिनमा त उनीहरु फुरुंग पर्न सक्छन्, आमाबुवासँग कतै घुम्न जाने पाइयो कि भनेर । घरभित्रै हुर्किरहेका बच्चालाई बाहिर घुमफिर गर्न रमाइलो लाग्छ । पहिलो पटक विद्यालय जाँदा पनि उनीहरुलाई त्यस्तै लाग्छ । नयाँ ब्याग बोक्न पाउँदा पनि उनीहरु रमाउँछन् ।
विद्यालय पुगेपछि त्यहाँको माहौल देखेर, अरु साथीसंगी देखेर उनीहरु दंग पर्छन् । उन्मुक्त खेल्छन् । रमाउँछन् । तर, आमाबुवाले छाडेपछि भने उनीहरु रुन थाल्छन्, चिच्याउन थाल्छन् । किनभने उनीहरुलाई थाहा हुँदैन कि, त्यहाँ आमाबुवा हरक्षण आफ्नो साथमा हुनेछैन ।
यही कुरा थाहा पाएपछि भने उनीहरु खिन्न हुन्छन् । कहिल्यै आमाबुवाको साथ नछाडेका ति बालबच्चालाई आमाबुवाको तिर्सना लाग्न थाल्छ । त्यसपछि उनीहरु रुन्छन् ।
भोलिपल्ट जब उनीहरु विद्यालयका लागि तयार हुन्छन्, अघिल्लो दिनको जस्तो जोश र उमंग हुँदैन । किनभने विद्यालय पुर्याएपछि आमाबुवा गायब हुन्छन् भन्ने उनीहरुलाई परिसकेको हुन्छ । कति आमाबुवाले बच्चालाई फकाएर, झुट बोलेर विद्यालय पुर्याउँछन् । विद्यालयको प्राङ्गण टेक्नसाथ उनीहरु उसैगरी रुन र चिच्याउन थाल्छन् ।
यसरी सुरुवाती दिनमा बच्चालाई विद्यालय पुर्याउन एवं विद्यालयमा बस्ने बानी गराउन मुश्किल हुन्छ । बच्चाहरु किन रुन्छन् ? किन उनीहरु विद्यालयमा बस्न रुचाउँदैनन् ? किन उनीहरु आमाबुवालाई छाड्न मन गर्दैनन् ?
बच्चाको यो मनोविज्ञान चाहि स्वय्म आमाबुवा र शिक्षक/शिक्षिकाले समेत बुझ्नुपर्ने हुन्छ ।
हामी ठूलो मान्छेलाई पनि कुनैपनि कुरामा तुरुन्त बानी पार्न गाह्रो हुन्छ । कहिल्यै नगरेको काम गर्न कठिन हुन्छ । कहिल्यै नपुगेको ठाउँमा घुलमिल हुन असहज हुन्छ ।
एउटा अवोध बच्चा, जसलाई विद्यालय के हो ? किन पढ्ने ? के पढ्ने ? भन्ने थाहा हुँदैन । उनीहरुका लागि विद्यालय जान नहुने वा जान नपर्ने ठाउँ भन्ने लाग्छ । विद्यालय गएपछि आमाबुवा छुट्छन् । अमाबुवाले जसरी माया-ममता नपाइन सक्छ । त्यही कारण उनीहरु फरक परिवेशमा सहजै रमाउन सक्दैनन् ।
अब के गर्ने त ?
बच्चालाई हामीले जबरजस्ती विद्यालय ल्याउने, छाड्ने गर्नुभन्दा पनि उनीहरुलाई सहज वातावरण बनाएर घुलमिल गराउने हो ।
यसका लागि शिक्षक र अभिभावक दुवैको प्रयास जरुरी हुन्छ । बच्चालाई घरमा जस्तै माया दिने, प्रेमपूर्वक व्यवहार गर्ने, हरेक कुरामा सहज बनाइदिने हो भने उनीहरुले बिस्तारै घरको वातावरण भुल्छन् र कक्षाकोठामा अभ्यस्त हुन्छन् ।
यसका लागि शिक्षक/शिक्षिकाले बच्चाका लागि आमाबुवा जस्तै, साथीसंगी जस्तै बन्नुपर्छ । शिक्षक जस्तै बनेपछि उनीहरुको दुरी बढ्छ । शिक्षकसँग बच्चा डराउन सक्छन् । त्यसैले शिक्षक/शिक्षिका आमाबुवा जस्तै मायालु हुनुपर्छ ।
शिक्षण पेशा भनेको पढाउने मात्र होइन । आफुले जानेको कुरा अरुलाई सिकाउने मात्र होइन । बच्चाहरुको मनोविज्ञान, रुची केलाउने, त्यही अनुसार उनीहरुलाई व्यवहार गर्ने, उपयुक्त वातावरण दिने पनि हो । एउटा शिक्षकले आफुलाई धेरै किसिमको भूमिकामा ढाल्नुपर्छ । कहिले अभिभावक जस्तै, कहिले साथी जस्तै, कहिले गुरु जस्तै, कहिले सेवक जस्तै ।
बच्चा कसरी रमाउँछ, बच्चाले कसरी सिक्छ, बच्चाले के चाहन्छ ? यी कुरा शिक्षकले बुझ्नुपर्छ । यसरी बालबच्चाको मनोविज्ञान र रुची बुझेर त्यही अनुसार उनीहरुलाई रमाइलो एवं प्रेमपूर्ण वातावरणमा हुर्काउने हो भने बालबच्चा सहजै विद्यालयमा घुलमिल हुन सक्छन् ।