वीरगन्ज : विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप नेपाली बजारमा बिक्री भइरहेको भन्दै उपयोग नगर्न आग्रह गरिएको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप वीरगन्जको बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको हो ।
वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका पूर्व अध्यक्ष विदुर गुप्ताले भारतबाट आएका दशहरी, सबुजालगायतका जातका आँप विषादीयुक्त रहेको बताएका छन् । भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आयात गरिएका हुन्।
नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले यसरी विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने हुँदा प्रयोग नगर्न सुझावसमेत दिएका छन् ।