चाणक्य नीतिशास्त्रका लागि विख्यात थिए । एकपटक एक चिनियाँ दार्शनिक भेटघाटका लागि चाणक्यको घर पुगे । उनी पुग्दा अँध्यारो भइसकेको थियो । जब उनी चाणक्यको कोठामा प्रवेश गरे, उनले एउटा उज्यालो दियोको अगाडि बसेर केही लेखनमा व्यस्त चाणक्यलाई देखे । चाणक्यले ढोकामा आइपुगेका आगन्तुकलाई देखेपछि मुस्कुराउँदै भित्र आएर बस्न संकेत गरे ।
छिटोछिटो आफ्नो लेखनलाई पूर्णता दिएर उनले जुन दियोको उज्यालोमा लेख्दै थिए, त्यो निभाए र अर्कै दियो सल्काएर चिनियाँ दार्शनिकसित कुराकानी गर्न थाले । चाणक्यले एउटा दियो निभाएर अर्को सल्काएको देख्दा चिनियाँ दार्शनिक छक्क परे । उनले सायद भारतमा यस्तै चलन होला भन्ने सोचे । तर, आफ्नो मनको खसखस थाम्न नसकेर उनले सोधे– महाशय, म आउँदासम्म जुन दियोको उज्यालोमा लेख्दै हुनुहुन्थ्यो, त्यो निभाएर अर्कै दियो सल्काएर मसित कुराकानी गर्न बस्नुभयो । तर, दुवै दियो उस्तै देखिन्छन् । के भारतमा आगन्तुक आउँदा नयाँ दियो सल्काउने चलन छ हो ?
चिनियाँ दार्शनिकको प्रश्न सुनेर चाणक्य मुस्कुराए र उत्तर दिए– हैन महाशय, यस्तो कुनै चलन छैन हाम्रो देशमा । जब तपाईं मेरो घरमा प्रवेश गर्नुभयो, त्यतिखेर म राज्यको काम गरिरहेको थिएँ । त्यसैले मैले त्यो दियो सल्काइरहेको थिएँ, जसमा राज्यकोषको धनबाट तेल हालिएको थियो । तर, अब म तपाईंसित कुराकानी गर्दै छु । यो मेरो व्यक्तिगत भेटघाट हो । त्यसैले, म त्यो दियो बालिरहन सक्दिनँ, जसमा राज्यकोषको धनबाट तेल हालिएको छ । यस्तो गर्नु राज्यकोषको दुरुपयोग हो । त्यसैले, यतिखेर मैले यो आफ्नै कमाइबाट तेल हालिएको दियो सल्काएको हुँ । चाणक्यको भनाइबाट चिनियाँ दार्शनिक निकै प्रभावित भए । उनले झुकेर चाणक्यप्रति सम्मान दर्साए । nayapatrikadaily.com