एकपटक एकजना शिक्षकले आफ्ना शिष्यलाई असल संगतको प्रभावबारे बताइरहेका थिए । तर, उनले जति नै मृदु स्वरमा बुझाउने कोसिस गरे पनि कलिला बालबालिकाले उनको भनाइको अर्थ बझिरहेका थिएनन् ।
जव ती शिक्षकले नजिकैको एउटा बगैँचामा गुलाफका फूल मुस्कुराइरहेको देखे । उनले तत्काल एक शिष्यलाई सो गुलाफको बोटको फेदबाट एक मुठी माटो ल्याउन अह्राए । उनको आदेश पाउनासाथ एक विद्यार्थी बगैँचातिर खुर्र दौडिए ।
उनले गुरुको आदेशअनुसार एक मुठी माटो पनि ल्याए । त्यसपछि शिक्षकले सबैलाई पालैपालो माटो सुँघ्न लगाए । प्रत्येक शिष्यले माटो सुँघे । माटो सुँघ्दै जाँदा उनीहरू अचम्ममा पनि परिरहेका थिए । एकजना विद्यार्थीले सोधे– गुरू, यो माटोबाट त ठ्याक्कै गुलाफको जस्तै मिठो बास्ना आइरहेको छ । यसको कारण के हो ? हामी जान्न चाहन्छौँ ।
शिष्यको जिज्ञासापछि शिक्षकले हल्का मुस्कुराउँदै भने– हो, यही कुरा त म तिमीहरूलाई बुझाउने कोसिस गरिरहेको थिएँ । वास्तमा यस माटोमा गुलाफको फूलबाट शीतका थोपा तप्पतप्प खसिरहन्छन् । अनि, ओइलाउँदै गएका गुलाफका फूलका पत्र पनि यहीँ खस्छन् ।
जसको प्रभावले गर्दा यो सामान्य माटोबाट पनि गुलाफको बास्ना आएको हो । यो सब संगतको प्रभाव हो । यो माटोमा गुलाफको सुगन्धको प्रभाव परेजस्तै असल मानिसको संगतको प्रभाव पनि मानिसमा सकारात्मक नै पर्छ ।