थुलुङदुधकोशीमा निर्माण हुने नमुना वस्तीकोे अन्तिम डिपिआर तयार

ByBibas chetan

१ भाद्र २०७५, शुक्रबार १९:२२ १ भाद्र २०७५, शुक्रबार १९:२२ १ भाद्र २०७५, शुक्रबार १९:२२

थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण हुने एकिकृत नमूना वस्तीको अन्तिम डिपीआर तयार भएको छ । डिपीआर तयार पश्चात त्यसको समीक्षा समेत सकिएको छ । बिहबार साझ काठमाडौंमा एक कार्यक्रमकाबीच नमूना वस्ती निर्माणको प्रक्रिया र चरणको बारेमा छलफल गरिएको हो ।
नमुना वस्ती निर्माणको लागि विगत एक बर्ष देखी डिपीआर तयार पार्ने काम सुरु भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । “एक बर्ष भित्र डिपीआर तयार भईसकेकाले अन्तिम समीक्षा तथा छलफल कार्यक्रमको आयोजना ग¥यौ” अध्यक्ष राईले भने, ‘भौतिक पुर्वधार निर्माणमा ध्यान दिने समय यहि हो, समयमा ध्यान दिन सकिएन भने अव्यवस्थीत हुन्छ । उनले भने “अव्यवस्थित नहोस भनेर हामीले एकिकृत नमूना वस्तीको अवधारणा ल्याएका हौं ।”
७५३ वटा स्थानीय तहमध्ये नमुना स्थानीय तह निर्माण गर्ने प्रतिबद्धता अनुसारको एकिकृत नमुना वस्ती पनि एक रहेको गाउँपालिका अध्यक्ष राईको भनाई छ । काठमाडौंको लाजिमपाट स्थीत सम्पदा गार्डेनमा कार्यक्रमको आयोजना गरिएको थियो । समीक्षा तथा छलफल कार्यक्रमको सहजीकरण एकिकृत नमूना वस्ती निर्माण सम्बन्धिका विज्ञहरुले गरेका थिए ।
कार्यक्रममा सोलुखुम्बु प्रतिनिधी सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, सोलुखुम्बु प्रदेश ‘क’ सांसद उत्तमकुमार बस्नेत, नेपाल सरकार कृषि मन्त्रालयका सहसचिव योगेन्द्र कार्की, पूर्व एआईजी मिङमार लामा, जिल्ला स्थीत राजनितिक दलका प्रमुख, स्थानीय तहका प्रमुख लगायत थुलुङ दुधकोशी गाउँपालिकाबासीको उलेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले तयार परिएको डिपीआर माथि थप सल्लाह, सुझाव समेत दिएका थिए ।
एकिकृत वस्ती निर्माणका लागि चार सय रोपनी जग्गा आवश्यक पर्ने बताईएको छ । आवश्यक जग्गा मध्ये पहिलो चरणमा दुई सय रोपनी गाउँपालिकाले प्राप्त गरिसकेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । बाँकी दुई सय रोपनी जग्गा अतिग्रहण गर्ने तयारी गरेको पनि अध्यक्ष राईको भनाई छ ।
“हामीले एकिकृत वस्ती निर्माण गर्ने भनेर स्थानीय स्तरमा जानकारी गरायौ” अध्यक्ष राईले भने, “मुक्लि, मैदेल बासी एकदमै खुसी हुनुभयो र गाउँको बिकासमा सहयोग गर्ने भन्दै जग्गा समेत सहजै उपलब्ध गराउनुभएको छ ।”
जग्गा व्यवस्थापनमा पुर्व एआईजी मिङ्मार लामा र व्यवसायी बलराम गुरुङ लगाएतले सहजीकरण गर्नुभएको छ । अध्यक्ष राईले भने, “मलाई यस कार्यमा वडाका जनप्रतिनिधि देखी सञ्चार माध्यम र स्थानीयले महत्वपुर्ण सहयोग गर्नुभएको छ, अवश्य यो योजना सफल हुन्छ ।”
वस्ती निर्माणका लागि तीस करोड लाग्ने ।
गाउँपालिकाले निर्माण गर्ने एकिकृत बस्तीका लागि तीस करोड लाग्ने अनुमान गरिएको छ । उक्त लागत जग्गा प्राप्ती देखी निर्माण सम्पन्न गर्दा सम्मको रहेको गाउँपालिकाले जनाएको छ । एकिकृत नमुना वस्तीमा कम्तीमा दुई सय घर बन्ने बताईएको छ ।
६०–४० को अवधारणामा वस्ती निर्माण हुने गाउँपालिकाले जनाएको छ । “गाउँपालिकालाई प्राप्त जग्गा मध्ये सम्बन्धित जग्गाधनीले ४० प्रतिशत पाउँछ, गाउँपालिले ६० प्रतिशत पाउँछ ।” गाउँपालिका अध्यक्ष राईले भने, “६० प्रतिशत गाउँपालिकाले लिएपछि सम्पूर्ण प्रशासनिक केन्द्र, विषयगत कार्यालयलाई त्यहाँ राख्छौ । सडक, सुरक्षा, पानी, यो सबै गाउँपालिकाभित्र हुन्छ ।”
“बाँकी ४० प्रतिशत जग्गा धनीले पाउने हो तर हामी जग्गा दिँदैनौँ” अध्यक्ष राईले भने, “जसका लागि गाउँपालिकाले जग्गा बिक्रिका लागि टेण्डर खुलाउँछ । त्यो बेचेर आएको पैसा मात्र हामी सम्बन्धित जग्गाधनीलाई दिन्छौँ ।” आर्थिक व्यवस्थापनमा कुनै समस्या नहुने अध्यक्ष राईको विश्वास छ ।

-radiosolu.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!