ढाड दुख्ने समस्यामा गर्न हुने र नहुने काम, कारण र फिजियोथेरापी

ByBibas chetan

२९ आश्विन २०७५, सोमबार १३:४७ २९ आश्विन २०७५, सोमबार १३:४७ २९ आश्विन २०७५, सोमबार १३:४७

ढाड दुखाइ भनेको के हो ?
– घाँटी भन्दा तल्लो र पुठो भन्दा माथिको भागमा भएको दुखाइलाई ढाड दुखाइ भनिन्छ ।
– मान्छेको ठाडो शारीरिक बनावट भएकोले माथिल्लो शरीरको भार ढाडहुँदै दुवै खुट्टाबाट भूइँमा जाने हुनाले ढाड दुख्ने समस्या बढी देखिन्छ ।
– ढाड शरीरका अन्य भाग भन्दा कम चल्ने र बढी स्थिर हुने भएकोले ढाडमा स्टिफनेसले गर्दा पनि दुख्ने समस्या उत्पन्न हुन्छ ।

ढाडको दुखाइलाई तीन भागमा विभाजित गर्न सकिन्छ :
माथिल्लो ढाड : घाँटी भन्दा मुनि दुवै पाताको बीचको भाग
मध्य ढाड : पाता भन्दा तल र कम्मर भन्दा माथिको भाग
तल्लो ढाड : तल्लो ढाडलाई कम्मर पनि भनिन्छ ।

ढाड दुखेको कसरी थाहा पाउने ?
बस्दा, हिंड्दा, बसेर, उभिंदा वा काम गर्दा असजिलो हुने, कहिलेकाहीं वा नियमित ढाड वा खुट्टातिर दुख्ने, निदाउने वा झमझमाउने, लाटो हुने, पोल्ने जस्ता समस्या भएमा ढाड दुखेको भन्ने बुझिन्छ ।

ढाड दुख्ने कारणहरु के–के हुन् ?
माथिल्लो ढाड : माथिल्लो ढाडको दुखाइ खासगरी मांशपेशीका कारण– जस्तै मसल्स स्पाजम, टिगर प्वाँइन्ट, फाइब्रोमाइल्जिया, फाइब्रोसाइटिस आदि हुन् भने घाँटीमा नशा च्यापिएको कारणले पनि माथिल्लो ढाड दुख्ने, पातातिर पोल्ने, लाटो हुने, झमझमाउने हुन्छ । त्यसैगरी कहिलेकाहीं घाँटीमा हड्डीसम्बन्धी समस्याहरु– जस्तै हड्डी खिइएको, सर्भाइकल रिब्सले गर्दा सरेको दुखाइ हुन्छ । त्यस्तै मेरुदण्डसम्बन्धी समस्याहरु– जस्तै स्पाइना बाइफिडा, स्कुल जाँदा भारी ब्याग बोक्ने, गलत तरिकाले बसेर लामो समयसम्म पढ्ने, सानै उमेरदेखि लामो समयसम्म कम्प्युटर, मोबाइल, ल्यापटप जस्ता उपकरण अगाडि निहुरेर चलाउने गरेको अवस्थामा माथिल्लो ढाड कुप्रो हुन जान्छ जसलाई काइफोटिक पोस्चर भनिन्छ । यसका साथै कुम जाम भएको अवस्थामा पनि माथिल्लो ढाड दुख्ने हुन्छ ।

मध्य ढाड : खासगरी मेरुदण्डका विकृति– जस्तै स्कोलियोसिस वा मेरुदण्डको संक्रमण जस्तै– स्पोन्डोलाइटिस, पोट्स स्पाइन, ट्रान्सभर्स माइलाइटिस इत्यादिका साथै मसल्स स्पाजम वा टाइटनेसले गर्दा दुखेको पाइन्छ ।

तल्लो ढाड : तल्लो ढाडको दुखाइका कारणहरु– बस्ने, उठ्ने तरिका नमिलेर, मसल्स स्पाजम, हड्डी खिइएर, नशा च्यापिएर, स्टेनोसिस इत्यादि हुन् । भने धेरैजसो ह्याम्स्ट्रिङ्ग टाइटनेस, पाइरिफर्मिस सिन्ड्रोमले गर्दा पनि तल्लो ढाड दुख्ने महत्वपूर्ण कारण हुन् । साथै गर्भवती भएको वा शारीरिक तौल समान्य भन्दा बढी भएको बेला मेरुदण्ड अगाडितिर तानिन्छ । त्यसैगरी कहिलेकाहीं चोटपटक लागेर मेरुदण्डका हड्डी फ्याक्चर, मसल्स वा लिगामेन्ट टिअरले गर्दा पनि कम्मर दुख्ने समस्या उत्पन्न हुन्छ । त्यसैगरी मांशपेशी कमजोर भएर पनि ढाड दुख्ने हुन्छ ।

ढाड दुख्ने समस्या भएमा फिजियोथेरापीमा कुन बेला जाने ?
– ढाड वा खुट्टातिर दुख्न थालेमा र आराम गरेपछि पनि दुखाइ कम नहुँदा वा खुट्टातिर झमझमाउने वा निदाउने, पोल्ने, हिंड्न गाह्रो हुनेबित्तिकै फिजियोथेरापीमा जाने वा हाड जोर्नी तथा नशारोग विशेषज्ञकोमा रोग निदान गरी फिजियोथेरापीमा रोकथाम, सावधानी अपनाउने तरिकाबारे जानकारी लिन र उपचारको लागि जाने ।

ढाड दुख्ने समस्या भएमा कति समयसम्म फिजियोथेरापी गर्ने ?
– फिजियोथेरापीको कुनै निश्चित अवधि नभएकोले फिजियोथेरापिष्टको सल्लाह र परामर्शअनुसार गर्ने । फिजियोथेरापीद्वारा समस्या कम गरिनुका साथै बढ््नबाट पनि जोगाउने हुनाले भनिएको सावधानी अपनाउनु आवश्यक हुन्छ ।

दुखाइको कारणअनुसार फिजियोथेरापी
– मसल्स स्पाजमले गर्दा दुखाई भएमा तातोले सकेर स्ट्रेचिङ्ग, मायोफेसिउल रिलिज, निङ्गि, रोलिङ्ग, ट्यापिङ्ग इत्यादि गरिन्छ ।
– मांशपेशी टाइटनेसले गर्दा भएको दुखाइमा तातोले सकेर ३०–६० सेकेन्ड स्ट्रेचिङ्ग गरिन्छ र आफंै गर्ने तरिका सिकाइन्छ ।
– मांशपेशी कमजोर भएर दुखेमा मांशपेशीलाई बलियो बनाउन स्ट्रेन्थेनिङ्ग व्यायामहरु जस्तैः खुट्टा खुम्च्याएर कम्मर माथि उचाल्ने, कम्मरले मुनितिर धकेल्ने, कोर मसल्स स्ट्रेन्थेनिङ्ग इत्यादि गराइन्छ ।
– मसल्स टिअर भएर दुखेमा आइस प्याकले १५–२० मिनट सेकेर आइ.एफ.टी. मेसिनको प्रयोग गरी दुखाइ कम गर्न सकिन्छ भने च्यातिएको मांशपेशीलाई चाँडो निको पार्न अल्ट्रासाउण्ड मेसिन प्रयोग गरिन्छ ।
– हड्डी खिइएको कारणले भएको दुखाइमा आइ.एफ.टी. मेसिन लगाएर मांशपेशीलाई बलियो बनाउने अभ्यासहरु गराई हड्डीलाई आफ्नो ठाँउमा तानेर राख्न मद्दत पु¥याउँछ । जसले अझै खिइनबाट जोगाउँछ ।
– गर्भवती भएको बेला दुखेमा भिन्न प्रकारका व्यायामहरु गराइन्छ ।
– नशा च्यापिएका कारणले भएको दुखाइ र खुट्टा झमझमाएको, पोलेको कम गर्न ट्राक्सन मेसिनको प्रयोग, मांशपेशीको दुखाइ कम गर्न टेन्स मेसिनको प्रयोग र मांशपेशी बलियो बनाउन व्यायामहरु पनि गराइन्छ ।

– चोटपटक लागेर वा नशा च्यापिएर कुनै प्रकारको शल्यक्रिया गर्नुपरेमा शल्यक्रियापछि पनि फिजियोथेरापी अनिवार्य गराउनुपर्छ ।
-डा. सोनी देव/swasthyakhabae.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!