उनी ३९ वर्षकी भइन् । सडक डिभिजन कार्यालयमा हेभी ड्राइभरको काम गर्छिन् । उनले यस्तो काम गर्न थालेको २० वर्ष पुगिसकेको छ ।
महिलाले अलि हल्का काम मात्रै रोज्ने गर्दछन् । तर, मुनाले डोजर चलाउने काम रोजिन् । सामान्य जीवनयापन चलाउन उनले टेम्पो वा अन्य हल्का सवारी साधन पनि चलाउन सक्थिन् । तर, उनी हक्की स्वाभावकी छिन् । ‘पुरुषले गर्न सक्ने काम म पनि गर्न सक्छु’ भन्ने दृढताले उनलाई जेसीबी अपरेटर बनायो ।
उनको परिवारमा दाजुभाई छैनन् । त्यसैले उनी आफैं पुरुषले गर्ने काम गर्न तम्सिएको बताउँछिन् । उनका एक दिदी र बहिनी छन् ।
‘सुरुसुरुमा डोजर देख्दा अचम्म लाग्थ्यो, चारैतिर घुम्ने कस्तो खालको साधन रहेछ भन्थेँ,’ उनले भनिन्, ‘मैले यसलाई चलाउने हिम्मत राखें, प्रयास गरें र सिकेरै छाडेँ । यो पेशाप्रति म सन्तुष्ट छु ।’
२०५६ सालबाट जेसीबी चलाउन थालेकी मुनाले ११ वर्ष विभिन्न प्राइभेट कम्पनीका जेसीबी चलाइन् । त्यसपछि उनी सडक डिभिजनमा करार कर्मचारीको रुपमा भित्रिएकी हुन् । २०७१ सालबाट उनी स्थायी कर्मचारीको रुपमा सडक डिभिजन कार्यायलमा कार्यरत छिन् ।
महिलाले पनि साहसिक र पुरुषजस्तै हेभी काम गर्न सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । मुना नेपालकै पहिलो साहसिक महिला हेभी अपरेटर हुन् ।
निजी कम्पनीमा रुपमा कार्यरत डोजर अपरेटरको तलब मासिक ५० हजार रुपैयाँभन्दा बढी हुन्छ । यसमा भत्ता छुट्टै हुन्छ । सरकारी जागिर खानुअघि उनको आम्दानी पनि यस्तै थियो । अहिले भने उनले सुब्वा सरहको सरकारी तलब बुझ्छिन् ।
एकजना सहयोगीको साथमा नौ कक्षा पढ्दा पढ्दै गोरखाबाट नेपालगन्जको एउटा निर्माण कम्पनीमा काम गर्न पुगेकी उनलाई डोजर र इस्काभेटर जस्ता ठूला उपकरणले आकर्षित गरे।
हेर्दा हेर्दै उनले ती उपकरणहरू चलाउन सिकिन् र केही समयपछि निकै हिम्मत गरेर चलाइन्।
“शुरूमा त हात काम्यो। एउटा गाडीमा नठोकाइ सामान लोड गरिसकेपछि हात बस्यो। पहिलो पटक डोजर चलाइसकेपछि उनलाई चलाउन सक्छु भन्ने आत्मविश्वास भयो।”
त्यसपछि उनको हेभी इक्विपमेन्ट चलाउने यात्रा शुरू भयो। “पुरुषहरूमात्र भएको ठाउँमा ठूला उपकरण चलाउने एकजना मात्र महिला थिएँ। त्यसबेला बुवाले पनि काम छाडेर घर फर्कन भन्नुभयो। तर म फर्किनँ।”
त्यतिबेला समाजले महिला डोजर चालकलाई नपत्याएको उनी सम्झन्छिन्।