‘तितेपाती’ धेरै गुणकारी

ByBibas chetan

२३ श्रावण २०७६, बिहीबार १७:२७ २३ श्रावण २०७६, बिहीबार १७:२७ २३ श्रावण २०७६, बिहीबार १७:२७

अधिकांश पहाडी क्षेत्रमा जताततै पाइने तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्नसक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन ।

समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती । फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टिमिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् ।

नेपालमा तितेपातीको औषधीय गुणको गहन अध्ययन र परीक्षणबाट ठोस प्रतिफल वैज्ञानिक तहबाट प्राप्त हुन सकेको छैन । केही स्थानीयले भने राम्रो प्रयास गरिरहेका छन् । दिक्तेल रुपाकोट, मझुवागढी नगरपालिका– १० पाथेकास्थित स्थानीयले तितेपातीको तेल निकालेका छन् । भदौ र असोज महिना तेल निकाल्ने उपयुक्त मौसम हो ।

गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ एग्रो कम्पनी स्थापना गरे । कम्पनीका अध्यक्ष अग्नि राई भन्छन्, ‘परीक्षण सफल भएपछि तेल आउँदो रहेछ भनेर थाहा पायौँ, गत वर्ष करिब ४५ केजी तेल निकाल्न सफल भयौँ ।’

अध्यक्ष राईका अनुसार तितेपातीको तेल पानीभन्दा हलुका हुन्छ । एक हजार मिलिलिटर पानीको एक केजी हुँदा तितेपातीको तेल भने एक हजार दुई सय मिलिलिटरको एक केजी हुन्छ । आसपासका गाउँमा यसअघि नै भएको परीक्षण असफल बनेको उनले थाहा पाएका थिए । मेसिन बनाएर तितेपातीको तेल निकाल्न सफल भएको उनले बताए ।

कीराबाट बचाउन प्रयोग

तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन् ।

त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताए । उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छाड्दा कीरा भाग्ने गर्छन् ।

नेपालमा परम्परागत रूपमा तितेपातीको उपयोग र बढी प्रयोग भइरहेको वनस्पतिविज्ञ तीर्थबहादुर श्रेष्ठले बताए । उनले भने, ‘चीनले तितेपातीको औषधिबाटै नोबल पुरस्कार जित्यो, जापानले नेपालमै आएर तितेपातीको पाउरोटीको परीक्षण गर्‍यो तर नेपालले ठूलो उपलब्धि पाएको छैन ।’

विज्ञ श्रेष्ठका अनुसार आयुर्वेदिक महत्वको वनस्पति तितेपाती नेपालका लेकमा जुका फाल्न र तल्लो भेगमा बिरुवालाई कीराबाट बचाउन बढी प्रयोग भइरहेको छ । तितेपातीको फरक गुणको फरक उपयोगका लागि अनुसन्धान हुन नसकेको उनले बताए । नेपालमा तितेपातीको गहन अध्ययन र परीक्षण नभएकोमा उनकाे चिन्ता छ ।

मलेरिया निको पार्न सकिने

तितेपातीमा भएको लामो अनुसन्धानपछि परम्परागत औषधिबाट मलेरिया निको पार्न सकिने खोजमा चीनले सफलता पाइसकेको छ । जसका कारण सन् २०१५ को फिजियोलोजी अर्थात् औषधितर्फको नोबेल पुरस्कार चीनले प्राप्त गर्‍यो ।

चाइनिज एकेडमी अफ मेडिकल साइन्सका वैज्ञानिक युयुटुको नेतृत्वका अनुसन्धानकर्मीले सन् १९६५ देखि गरेको अध्ययनको प्रतिफलका रूपमा त्यो खोज सम्पन्न भएको थियो । क्यान्सर रोगको उपचारसमेत सम्भव गर्न सक्ने औषधीय गुण तितेपातीमा पाइने वनस्पतिविज्ञ बताउँछन् । यसको खोज र अनुसन्धानमा यतिबेला जापान, जर्मनी, भारत, पाकिस्तान पनि सक्रिय छ । कतै अत्तर निकालिरहेका छन् भने कतै विभिन्न औषधि उत्पादन भइरहेको छ ।

साभार-गोरखापत्र दैनिक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!