एकपटक अमेरिकी सेना प्रमुखले तत्कालीन रक्षामन्त्रीको आदेश सही ढंगले नबुझेको हुनाले कुनै गल्ती गरे । जब रक्षामन्त्रीले यसबारे थाहा पाए तब उनी अत्यन्त क्रोधित भए । उनी सेना प्रमुखलाई कडा कारबाही गर्नुपर्छ भन्ने निचोडमा पुगे ।
रक्षामन्त्री सेना प्रमुखलाई कारबाही गर्ने अनुमति लिन तत्कालीन राष्ट्रपति अब्राहम लिंकनसामु पुगे । उनले लिंकनलाई आफूले सेना प्रमुखलाई दिएको आदेश र उनले गरेको गल्तीबारे जानकारी गराउँदै उनीमाथि कडा कारबाही गर्नुपर्ने माग गरे । उनले भने– राष्ट्रपतिज्यू, सेना प्रमुखले मेरो आदेशको अवज्ञा गरेर ठूलो गल्ती गरेका छन् । उनलाई कडा कारबाही गर्नुपर्छ भन्ने मेरो विचार छ । यसमा हजुरको राय के छ ?
रक्षामन्त्रीको भनाइ सुनिसकेपछि लिंकनले भने– ओहो ! सेना प्रमुखले यति ठूलो गल्ती गरे ? उनलाई कारबाही त गर्नैपर्छ । यस विषयमा उनलाई एउटा पत्र लेख्नुहोस् । जसमा निकै कडा–कडा शब्द पनि राख्नुहोस् ।
राष्ट्रपतिको आदेश पाएपछि रक्षामन्त्रीले अत्यन्त कडा–कडा शब्द चयन गरेर सेना प्रमुखलाई पत्र लेखे । लेखिसकेपछि राष्ट्रपतिलाई देखाउन उनी राष्ट्रपतिको कार्यकक्षमा पुगे । उनले खुसी हुँदै भने– राष्ट्रपतिज्यू, मैले जानेजति कडा शब्द राखेर पत्र लेखेको छु । कृपया, तपाईं एकपटक यो पत्र पढ्नुहोस् ।
रक्षामन्त्रीको अनुरोध सुनेपछि लिंकनले उनीतिर हेर्दा पनि नहेरी भने– ठीक छ, अब यसलाई च्यातेर उः त्यो परको डस्टबिनमा हालिदिनुहोस् । यस्तो पत्र पठाउनुको कुनै औचित्य छैन । म पनि यसै गर्छु । जब मलाई कुनै काम गलत भयो भन्ने लाग्छ, त्यतिखेर यसैगरी कडा पत्र तयार गर्छु र अन्त्यमा च्यातेर डस्टबिनमा हालिदिन्छु । यसबाट म आफ्नो क्रोधमाथि नियन्त्रण राख्न सक्छु । क्रोधको आगोले बुद्धिलाई जलाएर भस्म बनाइदिन्छ । त्यसैले, जब जब क्रोध आउँछ, त्यतिखेर यही उपाय अपनाउनुहोला । यसबाट क्रोध कम गर्न सहयोग पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!